पाल्पामा ९३ जनामा कोरोना संक्रमण पुष्टि



चितवन : पाल्पामा बिहीबार बिहान थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा पाल्पाका ९३ जनालाई कोरोना संक्रमण देखिएको हो ।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा संक्रमितहरु भेटिएको जानकारी गराएको हो । पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा नमुना परीक्षणका लागि भरतपुर आएको अस्पतालले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालका १५, सिएमसी मेडिकल कलेजका ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सिओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २ सय ९७ वटा नमुनाको पीसीआर भएको थियो ।

जसमध्ये पाल्पाका ९३ बाहेक अरु २ सय ४ नमुनामा संक्रमण नदेखिएको अस्पतालको सूचनामा उल्लेख छ । प्रयोगशाला सञ्चालनपछि सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्