पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई ‘शहीद’ भनेपछि…



एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल–कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई ‘शहीद’को सङ्ज्ञा दिएएका छन् । नेता ओसामा बिन लादेनलाई ‘शहीद’को सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ।

बिहीवार संसद्‌मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए। त्यही प्रसङ्गमा उनले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गरेका थिए ।

अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो ।

‘म कहिल्यै बिर्सिन सक्दिनँ–पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भयो । ओसामा बिन लादेनलाई अमेरिकीहरूले एबटाबादमा आएर मारिदिए, शहीद बनाइदिए,’ खानले भने–‘त्यसपछि पूरै विश्वले हामीलाई गाली गर्‍यो, जथाभावी भन्यो । हाम्रो सहयोगी हाम्रै मुलुकमा आएर कसैलाई मार्दैछ अनि हामीलाई भन्दैन । अनि उसको युद्धमा ७० हजार पाकिस्तानी मरिसके।’

योभन्दा ठूलो अपमान अरू के हुन्छ भन्ने प्रश्न गर्दै उनले अमेरिका र पाकिस्तानको सम्बन्धबारे प्रश्न गरे । सन् २०११ मा भएको एउटा नाटकीय र गुप्त सैन्य कारबाहीमा अमेरिकाले उनलाई मारिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्