अब ट्रायल पास गरेको केही दिनमै स्मार्ट लाइसेन्स पाइने



काठमाडौंः यातायात व्यवस्था विभागले ५ वर्षदेखिको समस्या अबको २ महिनापछि समाधान हुने बताएको छ ।

स्मार्ट लाइसेन्स छपाईमा भएको ढिलासुस्तीको कारण आलोचना खेप्दै आएको विभागले दुई महिनापछि ट्रायल पास गरेको केही दिनमै स्मार्ट लाइसेन्स दिने भएको हो ।

ट्रायल पास गरेको डेढ वर्षसम्म पनि चालकहरुले स्मार्ट लाइसेन्स पाएका थिएनन् । लकडाउनमा पनि कार्यालय नियमित रुपमा सञ्चालन गरेर विभागले स्मार्ट लाइसेन्सको कामलाई नियमित गरेको छ ।

विभागले लकडाउनको अवधिमा छापिएका स्मार्ट लाइसेन्सको वितरण सुरु गरेको छ । लकडाउनको अवधिलाई सदुपयोग गर्दै वर्षौदेखि छाप्न नसकेको स्मार्ट लाइसेन्सको छपाइलाई तीव्रता दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले बताए ।

करिब २ लाख स्मार्ट लाइसेन्स छाप्ने काम तीब्र गतिमा भइरहेको बताउदै उनले महिनौ कुर्नुपर्ने स्मार्ट लाइसेन्स अब सहजै पाउन सकिने बताए । हाल विभागले लकडाउनको अवधिमा छापिएका र अन्य समयमा छापिएका स्मार्ट लाइसेन्स लकडाउन खुकुलो भएसँगै वितरण थालेको हो ।

उनका अनुसार लकडाउनको अवधिमा १ लाख ८० हजारभन्दा बढी स्मार्ट लाइसेन्स छापिएको छ । हाल दैनिक यातायात कार्यालयबाट ३ हजारभन्दा बढीका दरले लाइसेन्स वितरण भइरहेको उनले बताए ।

विभागले सवारी चालक अनुमति पत्र (स्मार्ट लाईसेन्स) को छपाई र वितरणमा देखिएको समस्या २ महिनाभित्र अन्त्य हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्