२९ जना थपिएसँगै प्रदेश २ मा ३ हजार भन्दा बढी संक्रमित, २८३ को रिपोर्ट आउन बाँकी, १ हजार ४१५ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित भएकाहरु महोत्तरीका २४,धनुषाका ३ र बाराका २ जना रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय १९ पुगेको छ । संक्रमित मध्ये ३ हजार १ सय १९ पुरुष र २ सय जना महिला रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु सम्सी नगरपालिकाको क्वारेन्टाईनमा रहेका १४ देखि ३३ बर्ष उमेर समूहका ४ जना पुरुष, औरही नगरपालिकाको रामविलास माविको क्वारेन्टाईनमा रहेका १ बर्षिया बालिका र १ देखि ३९ बर्ष उमेर समूहका ९ जना पुरुष तथा लोहारपट्टी नगरपालिकास्थित भेयरुखी उच्च मावि क्वारेन्टाईनमा रहेका २० देखि ३८ बर्ष उमेर समूहका १० जना पुरुषहरु रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित दुखनी देवी मावि बिरेन्द्रबजारको क्वारेन्टाईनमा रहेका १९,२२ र ३५ बर्षका ३ जना पुरुषहरु संक्रमित भएका छन् भने बाराको कामु प्यालेस होटेल (पेड क्वारेन्टाईन) मा रहेका ३२ बर्षिय १ पुरुष र ३२ बर्षिया १ महिलामा समेत संक्रमण पुष्टि भएको छ ।

प्रदेशभरीमा शनिबारसम्म ४२ हजार ६ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ३ सय १९ जना संक्रमित भएका छन् भने ३४ हजार ४ सय ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ४ हजार २ सय ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (शनिबार) मात्रै ४ सय ८२ जनाको स्वाब संकलन गरिएको छ भने २ सय १३ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
आरडिटी तर्फ अहिलेसम्म १९ हजार ७ सय २६ जनाको परीक्षण गरिएकोमा ९ सय ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १८ हजार ७ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९२ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ६ हजार ६ सय ६७ जनालाई राखिएको छ भने १७ हजार ४ सय १९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ६ सय ८८ बेड क्षमताको आईसोलेशनमा ७ सय ९३ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीमा ६ सय २३,महोत्तरीमा ५ सय ९०, धनुषामा ३ सय ३३, सप्तरीमा १ सय ७१, सिरहामा १ सय ६१, पर्सामा १ सय ५६ र बारामा १ सय १० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २४ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ११ जना,महोत्तरीका ३ जना,सर्लाहीका ३ जना र पर्साका ७ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए । योसँगै हालसम्म यस प्रदेशका १ हजार ४ सय १५ जना संक्रमित डिस्चार्ज भएर आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्