किराको प्रवेश, किसानहरु चिन्तित, प्राविधिक उपायहरु अपनाउने तयारी भईरहेको कृषिमन्त्री साहको भनाई



जनतकपुरधामः कोरोनाको त्रास समाप्त नहुँदै ‘सलह’ किराको प्रवेश भएसँगै प्रदेश २ का किसानहरु चिन्तित बनेका छन् । यो किरा नेपालमा प्रवेश गरेसँगै किसानमा यसको त्रास छाएको हो । सलह आएको ठाउँमा सम्पूर्ण बाली नष्ट हुने भएकोले किसानहरु बढि चिन्तित देखिएका छन् ।

शनिवार विहान ‘सलह’ किरा प्रदेश २ को ४ वटा जिल्लामा प्रवेश गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् । यस प्रदेशको सिमरा नाकाबाट यो किरा प्रवेश गरेको मन्त्री साहले बताए ।

यो किरा आज प्रदेश २ को सर्लाही,बारा,पर्सा र रौतहट जिल्लामा भेटिएको हो । प्रदेशमा सलह किरा छिरिसकेपछि यसको अनुसन्धान गर्नका लागि कृषि निर्देशनालयबाट निर्देशक रतन कुमार झाको नेतृत्वमा विज्ञ टोली सर्लाहीको नवलपुरको तेलबाली अनुसन्धान केन्द्रमा पुगेको बताइएको छ । सलह किराको कारण कृषिमा ठुलो क्षति हुनसक्ने भएकोले यसको नियन्त्रणको लागि प्राविधिक उपायहरु अपनाउने तयारी भईरहेको मन्त्री साहले बताए ।

उनले भने,‘अहिले जति संख्यामा प्रवेश गरेको छ त्यसले खासै ठुलो क्षतिको सम्भावना त छैन् तर संख्यात्मक रुपमा बढ्दै गयो भने भोलीको अबस्था भयावह हुनसक्छ । त्यसैले यसको समाधानका लागि प्रदेश सरकारले कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरेर नियन्त्रणका लागि विभिन्न सातवटा देशका कृषि वैज्ञानीकहरुसँग जुम मिटिङ्गमा छलफल गरेको छ ।’उनले तत्कालै किटनाशक औषधीहरु छर्किने काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिईसकिएको समेत बताए ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द रायले आज विहान करिब एक हजारको संख्यामा सलह किरा यस जिल्लामा प्रवेश गरेको बताए । उनले भने,‘अहिले सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत तेलबाली अनुसन्धान कार्यक्रम अन्तर्गतको फर्ममा पाइएको छ । हाम्रो टोली त्यहाँ पुगेको छ ।’

कृषि वैज्ञानिकहरुले दिएको जानकारी अनुसार दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै शनिबार नेपाल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्