त्रिशूली नदीमा जीप खस्दा बेपत्ता



काठमाडौंः पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ ।

धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए ।

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उनले बताए ।

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार खसेको सो जीप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ । वरिष्ठ उपरीक्षक धौबजीले भने, ‘जीप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जीप फेला परेको छैन ।’ रासस

प्रतिक्रिया दिनुहोस्