प्रदेश २ मा एकैदिन ७ को मृत्यु, ८ जना घाईते



जनकपुरधामः प्रदेश न.२ मा आज (बिहीबार) एकैदिन ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

प्रदेशको विभिन्न जिल्लामा ६ जनाको चट्याङ लागेर र एकजनाको घरको पर्खाल भत्किँदा मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

चट्याङ लागेर बारामा ४ जना महिला र सर्लाही तथा सप्तरीमा एक-एक जना पुरुषको मृत्यु भएको छ । त्यस्तै बारामा ७ जना र सप्तरीमा एकजना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

बारामा कलैया उपमहानगरपालिका वडा नं. १२ का ३५ वर्षीय आशा देवी कोइरी महतो, ४५ वर्षीय हलिमा खातुन, फेटा गाउँपालिका वडा नं. १ त्रिवेणीमा ३० वर्षीय सेन्डुदेबी र ४० वर्षीय सुनारपति देवीको मृत्यु भएको छ । त्यस्तै सर्लाहीमा बाग्मती नगरपालिका वडा नं. १० का १८ वर्षीय छोटु पासवान र सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ का ७० वर्षीय धर्मी साहको चट्याङ लागेर मृत्यु भएको छ भने नजिकै खेतमा काम गरिरहेकी सोही ठाउँ बस्ने तेज नारायण साहकी अन्दाजी १७ वर्षिया छोरी कञ्चना कुमारी साहलाई झट्का लाग्दा घाईते भएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । खेतमा काम गरिरहेको समय चट्याङ लाग्दा उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सप्तरीमा नै खडक नगरपालिका वडा न.१ स्थित सिस्वा गाउँमा वडा कार्यालयद्वारा भित्रि गाउँको बाटो बनाउने क्रममा रोलर चलाएपछि पर्खाल भत्कदा त्यहाँका स्थानिय राजकुमार मण्डलका १० वर्षीय छोरा शिव कुमार मण्डलको पर्खालले थिचेर मृत्यु भएको छ ।

बारामा चटयाङ लागेर घाईते भएकाहरु मध्ये बिसुन ठाकुरकी ५५ बर्षिया पत्नी बच्चा देबी हजामको अवस्था चिन्ताजनक रहेको छ भने दरोगा महतोकी ६० बर्षिया पत्नी राजपति देबी,देबलाल महतोकी ३५ बर्षिया छोरी श्रीकान्ती देबी,मुखलाल ठाकुरकी ६० बर्षिया पत्नी उमादेबी ठाकुर,चन्द्र किसोर कोईरीकी २५ बर्षिया पत्नी लिलावती देबी,नन्दकिसोर महतोकी ३५ बर्षिया पत्नी सिसिता देबी र रामचन्द्र बैठा धोबीकी ६० बर्षिया पत्नी सिलादेबी धोबीको अवस्था खतरामुक्त रहेको र उनीहरुको उपचार जारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्