अफताब आलमका एक सहयोगी पक्राउ, ८ जना अझै फरार



जनकपुरधामः रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको विस्फोटमा परि घाइतेभएकाहरुलाई इटाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादीलाई प्रहरीले समातेको छ ।

घटनामा संलग्न रहेको आरोपमा आलमका सहयोगी रौतहटको राजपुर नगरपालिका वडा नम्बर–६ बस्ने ३४ वर्षीय शेष सरोज भन्ने शेष सराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित आलम सहित ११ जना विरुद्ध मुद्दा दर्ताको क्रममा रहेका प्रतिवादीहरु मध्ये अझै पनि ८ जना फरार रहेका छन् ।

आलमले २०६४ सालको संविधानसभा निर्वाचनमा धाँधली गर्नका लागि स्थानीय इद्रिश शेषको गोठघरमा बम बनाइरदाँ विस्फोट भएको र त्यसपछि मृतक तथा घाइतेलाई नजिकैको इटाभट्टामा लगि जलाएर मारेको आरोप छ । त्यहाँ धेरैजना भारतीय नागरिक भएकाले कति जनाको ज्यान गयो भन्नेबारे प्रहरीले अझै यकिन गर्न सकेको छैन् ।

नेपाली कांग्रेसका तत्कालिन सांसद आलम अहिले पुर्पक्षका लागि हिरासतमा छन् । उनीपछि अर्का प्रतिवादीलाई प्रदेश नम्बर २ प्रहरीले गत महिना पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्