जाजरकोटको बारेकोटमा पाँच सय परिवार विस्थापित, नौ शव भेटिए



काठमाडौं : बुधबार रातिदेखि परेको अवरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न जिल्लाका ठूलो मानविय क्षति गरेको छ भने सयौं घर परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोमा शुक्रबार बेपत्ता भएका म्याग्दीका २४ र जाजरकोटका दुई जनाको शव फेला परेको छ । गुल्मी र म्याग्दीमा थप एक–एक ज नाको मृत्यु भएको छ । देशभर ३२ जना अझै वेपत्ता छन् भने तीन दिनमा बाढीपहिरोबाट ९ सय ५४ परिवार विस्थापित भएका छन् ।

पहिरोले गाउँ बगाउँदा जाजरकोटको बारेकोटमा ५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–८ जिरीका ३२ घर, गोठगाउँका ८ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालष् गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ भने मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेका छन् । त्यस्तै वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् ।

त्यस्तै वडा–५ को पाखा तोलखाना र कोलाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् ।

यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिका सार्थ सर्वसाधारणहरुले पहिरोमा परेर वेपत्ता भएकाको खोजीकार्य जारी राखेका छन् ।

त्यस्तै जाजरकोटमा पहिरोमा पुरिएका ९ जनाको शवको फेला परेको छ । बारेकोट–४ सार्कीगाउँमा वेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल साकी, उनका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली र कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की र ६ वर्षीय सुभाष सार्कीको आइतबार बिहान शव फेला परेको छ । बारेकोट ४ का अझै तीन र बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने वेपत्ता छन् । शान्तबहादुर र प्रचण्डलाई स्थानीय एक खोलाले बगाउँदा वेपत्ता भएका हुन् ।

सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता
बुधबार भोटेकोसी नदीमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । बाह्रबिसे नगरपालिका–५ जम्बुका १७ र भोटेकोसी गाउँपालिका–५ बुल्कुर्टेका चार जना बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार साँझ सुनकोसी क्षेत्रमा भेटिएको शव बुल्कुर्टेका फुर्पा तामाङका ६ वर्षीय छोरा साहिलको भएको प्रहरीले जनाएको छ ।

शुक्रबार लार्चा खोलामा बेपत्ता भएका तीन जना भने शनिबार जीवितै भेटिएका छन् । भोटेकोसी–३ स्थित लार्चा खोलाले बेपत्ता बनाएका स्थानीय नाक्चे मगर घाइते अवस्थामा फेला परेका छन् । मगरको टाउको र शरीरमा चोट लागेको छ । मगरसहित तीन मजदुर शुक्रबार बिहान ८ बजेतिर लार्चा खोलामा बेपत्ता भएका थिए । ‘मगरको २४ घण्टापछि सकुशल उद्धार भएको छ, उनीसँगै पहिरोमा पुरिएको आशंका गरिएका दुई जना पनि सुरक्षित पाइएका छन्,’ स्थानीय ध्रुव थापाले भने । बुधबार राति साढे १२ बजे भोटेकोसीमा आएको बाढीले जम्बु, खाग्दल, बुल्कुर्टेका ३६ घर बगाएको थियो । २१ जना बेपत्ता भएका थिए । घटनामा मृत्यु भएका दुई जनाको शव बिहीबार बिहान फेला परेको थियो ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार विपद् व्यवस्थापन महाशाखाअन्तर्गत २७ जनाको विशेष तालिमप्राप्त उद्धारकर्मी टोली, नेपाली सेना, प्रहरी र स्थानीय बेपत्ताको खोजीमा जुटिरहेका छन् । ‘घटनास्थल जम्बु, खाग्दल र सम्भावित स्थान भोटेकोसीदेखि सुनकोसी ड्याम क्षेत्रसम्म स्थानीय र बेपत्ताका आफन्तले पनि खोजीमा सघाइरहेका छन्,’ उनले भने । छिमेकी जिल्लाहरू काभ्रे, सिन्धुली, रामेछापको तटीय क्षेत्रमा पनि खोजीका लागि सम्बन्धित जिल्लाका प्रहरीलाई खबर गरिएको उनको भनाइ छ ।

डीएसपी काफ्लेले जम्बुका मात्रै १७ जना बेपत्ता भएको पुष्टि गरे । ‘जम्बुमा एकै नामका दुई जना बेपत्ता रहेछन् । काठमाडौंबाट परिवारजन आएर व्यक्तिगत विवरण देखाएपछि स्थलगत बुझ्दा थाहा पायौं, अब जम्बुका १७ र बुल्कुर्टेका ३ जना बेपत्ता छन्,’ उनले भने । बेपत्ता हुनेमा जम्बुका ७२ वर्षीय भीमबहादुर वाइबा, ७० वर्षीय चीनमाया तामाङ, २९ वर्षीय लीलामाया वाइबा, ८ वर्षीय पासाङडोल्मा वाइबा, २ वर्षीय निमाडोल्मा वाइबा, २५ वर्षीय लक्ष्मण वाइबा, १३ वर्षीया सुनमाला वाइबा, ५५ वर्षीय जनकबहादुर थिङ, २८ वर्षीया सविना तामाङ, ४ वर्षका आकाश तामाङ, ५७ वर्षका तोकबहादुर तामाङ, १८ वर्षकी माइली तामाङ, २५ वर्षका सुवेश तामाङ, २२ वर्षकी सलिना तामाङ, ५५ वर्षका युक्तबहादुर तामाङ छन् । यस्तै, मध्यभोटेकोसी जलविद्युत् आयोजनाका साइट सेक्रेटरी ३५ वर्षका हिमेश शर्मा र जाइकामा कार्यरत इन्जिनियर २४ वर्षका आकाश केसीसमेत बेपत्ता छन् । बुल्कुर्टेका एकै परिवारका ६० वर्षका निमार्दोर्जे तामाङ, ३८ वर्षकी मञ्जु तामाङ र १३ वर्षका पासाङनोर्बु तामाङसमेत सम्पर्कमा छैनन् । बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाले वर्षा रोकिएलगत्तै एक्स्काभेटर प्रयोग गरी बेपत्ताको खोजी र सडक सम्पर्क जोड्ने कार्य सुरु गरेका छन् ।

बाढी र पहिरोबाट म्याग्दी, जाजरकोट र सिन्धुपाल्चोकमा ३ सय ९६ घरपरिवारका १६ सय जनाभन्दा बढी विस्थापित भएका छन् ।

म्याग्दीमा ५० वटाभन्दा बढी घरका ८ सय ९६ जना विस्थापित भएका छन् । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायिक भवन राम्चेमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई बिमको किसानी मावि तथा आफन्तकामा राखिएको छ । उनीहरूका लागि ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेलसमेतको खाद्यान्न पु¥याइएको छ । सिवाङको कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरि गाउँपालिकाले छुट्टै खाने व्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका ३६ परिवारका करिब दुई सय जना विस्थापित भएका छन् । बाढी र पहिरोबाट जम्बुका १४, खग्दलका २१ र बुल्कुर्टेका २ घरपरिवार प्रभावित भएका हुन् । उनीहरूमध्ये धेरैजसो आफ्नै गाउँ फर्किएका छन् भने घरबारविहीन भएकाहरू आफन्तकामा आश्रय लिइरहेका छन् ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्