images

शिक्षाको तिर्सना मेटाउँदै आमाहरू

प्रकाश बस्याल | प्रकाशित: २०७५-११-२८ गते
शिक्षाको तिर्सना मेटाउँदै आमाहरू

काठमाडौं : इन्द्रा आले ६५ वर्षकी भइन् तर उनको  पढ्ने रहर भने यो उमेरमा पनि मेटिएको छैन। अहिले उनी ललितपुरको सातदोबाटोस्थित प्रेरणा महिला माविको कक्षा ६ मा पढ्दै छिन्। शिक्षाप्रति उनको मोह थाहा पाउनासाथ इन्द्रासँग नभेटी मनले नै मानेन। हामी ललितपुर प्रेरणा महिला मावि पुग्याै। त्यहाँ इन्द्रा जस्तै अरु २० जना जति आमा दिदीबहिनी पढिरहेका थिए। उनीहरू पढिरहेको देखेर हामी निकै खुसी भयौं। 

हामी इन्द्राको कक्षामा पुग्दा नवीन अधिकारी अंग्रेजी सिकाइरहेका थिए। उनी भर्खर २२ वर्षका छन्। कक्षाकोठामा भर्खरका कलिला केटाकेटीजस्तै लय मिलाएर भाका हालेर आमाहरू अंग्रेजी पढ्दै थिए। पति भारतीय गोर्खा सेनाबाट अवकासप्राप्त, छोराछोरी हुर्किसकेकाले दिनभरि फूर्सद भएकाले के गर्ने पिरलोमा परेकी इन्द्रालाई छोराछोरीले साथ दिएपछि विद्यालय पु¥याएको रहेछ।

‘सानोमा पढ्न पाइएन, अब छोराछोरी सबै हुर्कीसके नाति पनि अस्ट्रेलियामा छ’, उनले भनिन्, ‘सबैले घरमा अंग्रेजीमा कुरा गर्दा के भन्या होला भन्ने लाग्थ्यो। जतिबेला पनि सोध्ने कुरा भएन अनि गुम्सिएर बस्थें।’  छोराछोरीको सहयोगमा स्कुल जान थालेपछि आफ्नो जीवन नै फेरियो भन्छिन् उनी। कक्षा १ मा भर्ना भएकी इन्द्रा अहिले कक्षा ६ मा पुगिन्। त्यतिमात्र होइन उनले त स्कुल टप नै गरेकी रहिछन्। 

‘कक्षा १ मा फस्ट भएँ, २ कक्षामा स्कुल टप गरेपछि ३ कक्षा नपढी एकैचोटी ४ मा पढें’, उनले जोशिला कुरा सुनाउँदै भनिन्, ‘अनि ४ मा पनि टप गरेपछि ६ कक्षामा फड्को मारें। उनले परिवारको पूरा साथ पाएकी छन्। घरमा सबैले सघाउँछन्। नजानेका विषय छोरी बुहारीले सिकाउने गरेको उनले सुनाइन्।
 
हामीले बुढेसकालमा किन पढ्न आउनुभयो भनेर सोध्यौं। ‘शिक्षा सबैलाई चाहिने रहेछ’, उनले भनिन्, ‘पहिले कसैसँग बोल्न सक्दिनथें कुनै ठाउँ जाँदा कहाँ हो भनेर सोध्नु पथ्र्याे। अहिले त  साइनबोर्ड हेरेर धेरै कुरा जान्न थालें।’ 

दिनभरि खाली बस्नुभन्दा बिहानबेलुका घरधन्दा गरेर दिउँसो स्कुल आउँदा ज्ञान पनि पाइने समयको पनि सदुपयोग हुने उनको बुझाइ छ। मोबाइलबाट कुरा गर्न र आफन्तसँग जोडिन धेरै सहज बनाएको उनको अनुभव छ। 

अचेल नातिनातिना र छोराछोरीले अंग्रेजीमै बोल्ने गर्दा आनन्द लाग्ने उनको अनुभव छ। टोल छिमेकका अरु महिला पनि आफूले पढेको देखेर स्कुल जान इच्छुक भएको उनले सुनाइन्। यस्तै त्यही स्कुलमा इन्द्रा जस्तै कोटेश्वरकी ३५ वर्षीया सीतादेवी साह पनि कक्षा ६ मा पढ्दै छिन्। शिक्षाको भोक मेटाउन पनि उनी बालबच्चा र घरको काम सकेर स्कुल जान्छिन्। 

मेकानिक पेसामा आबद्ध पतिको साथले उनलाई कक्षा १२ सम्म पढ्ने मन छ। ‘छोराछोरी हुर्किसके अब खुरुखुरु पढ्ने हो।’

‘सबैले साथ दिनुपर्ने हो तर केही छिमेकीले मर्ने बेलामा हरियो काँक्रोजस्ता कुरा गर्छन्, सुनेर नरमाइलो लाग्छ’, अधवैंसे उमेरमा विद्यालय जान थाल्दा समाजले आफूलाई निरुत्साहित गरेकोमा चित्त दुखाउँदै उनले भनिन्, ‘तर म कदापि पछि हट्नेवाला छैन । पतिको साथ छ अझ धेरै अगाडि बढ्छु।’

नपढ्दा धेरै ठक्कर खाएको बताउँछिन् उनी। ‘पहिला पहिला सामान्य कुरा पनि नजान्दा धेरै पछि परेजस्तो लाग्थ्यो’, उनले भनिन्, ‘बैंक गयो साइन गर्नुपर्ने, बिजुली धाराको बिल हेर्न पनि नजान्ने। धेरै ठक्कर खाएपछि यो स्कुलबारे सुनेपछि यहाँ आएँ। अहिले त सबै काम गर्नसक्ने भएकी छु।’ 

देशभरि विद्यालय जाने उमेरका कतिपय बालबालिका सरकारी भर्ना अभियानमा समेटिने गरेका छैनन्। जानेहरूले पनि बीचमै पढाइ छाड्ने गरेका छन्। जानी नजानी विद्यालय भर्ना नभएका बालबालिकाको उमेर छिप्पिँदै जाने र बिहे पनि हुने गरेको छ।

घरजम गरिसकेका त्यस्ता महिला र पुरुषलाई शिक्षित गर्न सरकारले प्रौढ तथा गृहिणी शिक्षा दिने गरेको छ। तर उमेर पुगेका आमाहरू पनि पढाइलेखाइको भोक मेटाउन  राजधानीका विभिन्न महिला विद्यालयमा नियमित कक्षा लिने गरेका छन्। 

त्यस्तै आमामध्ये जुम्लाबाट काठमाडौं आएकी ४४ वर्षीया रामदेवी पाण्डे पनि एक हुन। उनी पनि प्रेरणा महिला माविको कक्षा ६ मा पढ्छिन्। कुनै बेला मान्छेको बीचमा बोल्नै धक मान्ने रामदेवीको अहिले भने एसईई सकेर गाउँमा महिलाकै लागि काम गर्ने धोको छ। 

प्रेरणा महिला माविकी प्रधानाध्यापक प्रभा चालिसे आफैं पनि ६० वर्ष पुग्नै लागिन्। उनको दैनिकी तिनै महिलासँग बित्ने गरेको छ। पाठ्यक्रम एउटै भए पनि नियमित विद्यालय पढ्ने बालबालिकाभन्दा आमाहरूलाई पढाउन केही फरक भएको सुनाइन्। 

उनले आमाहरूको पढ्ने र शिक्षाको उज्यालोतिर लम्कने चाहना पूरा गर्न पाउँदा आफूलाई औधी खुसी लागेको बताइन्। मानिसको जीवन सबै अध्ययन हो भन्दै उनले जीवनको अन्तिम क्षणसम्म पनि केही न केही सिक्ने समय भएको बताइन्। आमाहरूको शिक्षा मोह देखेर हामी पनि अत्यन्त उत्साहित भयौं।

सलाम छ हिम्मत दिने ती सबै आमाका परिवारलाई जसले शिक्षाका सुनौला किरणबाट उनीहरूलाई वञ्चित नगरी उत्साह दिएका छन् र उनीहरूको संसार पढ्ने र बुझ्ने प्रयासमा होस्टे गर्ने विद्यालयलाई। 

images
images
सम्बन्धित समाचार

आधुनिक बार्सिलाेनाका डिजाइनर, जसले विश्वलाई नयाँ आयाम दिए

आधुनिक बार्सिलाेनाका डिजाइनर, जसले विश्वलाई नयाँ आयाम दिए

विकास र समृद्धि नाराले होइन लगनशीलता र मेहनतबाट मात्र आउँछ भनेर बुझ्न कुनै पनि युरोपेली सहरको कथा पढे पुग्छ। अठारौं..

जात्रा पर्वकी संरक्षक जीवित देवी कुमारीबारे यस्ताे छ किम्बदन्ती

जात्रा पर्वकी संरक्षक जीवित देवी कुमारीबारे यस्ताे छ किम्बदन्ती

ललितपुर : उपत्यकाको सबैभन्दा लामो जात्रा मच्छिन्द्रनाथको भोटो देखाएसँगै आइतबार सकिएको छ। जात्रामा भोटो हेर्न र..

७० वर्षदेखि हजाम पेसालाई निरन्तरता दिँदै आएका ठाकुर परिवारलाई भविष्यको चिन्ता 

७० वर्षदेखि हजाम पेसालाई निरन्तरता दिँदै आएका ठाकुर परिवारलाई भविष्यको चिन्ता 

जनकपुर : सात दशक पूर्वदेखि सुरु भएको आफ्नो पेसालाई निरन्तरता दिँदै आएका छन् जनकपुरका ठाकुर परिवार । अझै प..

के हो ‘अटोसेक्सुआलिटी’ ? एउटी ‘अटोसेक्सुअल’ युवतीको कथा

के हो ‘अटोसेक्सुआलिटी’ ? एउटी ‘अटोसेक्सुअल’ युवतीको कथा

मैले भनेको सुनेर अरूलाई अचम्म लाग्न सक्छ कि म कुनै केटा वा केटीको साटो सधैँ आफ्नो शरीर हेर्दा आफूप्रति आकर्षित हुन्..

गैरहिन्दुप्रति राज्य किन यति असहिष्णु ?

गैरहिन्दुप्रति राज्य किन यति असहिष्णु ?

बुद्ध घिसिङ्ग, अधिवक्ता देश ०७३ सालमा नै गणतान्त्रिक लोकतन्त्र तथा संघीय शासन प्रणालीमा गइसकेको छ। तर त्यसय..

जुलुस, सभा, लन्च र डिनर अनि ह्याप्पी इन्भारोमेन्ट डे ! 

जुलुस, सभा, लन्च र डिनर अनि ह्याप्पी इन्भारोमेन्ट डे ! 

विनय सापकाेटा आज विश्व वातावरण दिवस। ग्लोबल वार्मिङ, वातावरण प्रदूषण र यसबारे चेतना जगाउने पोस्टर, पम्पलेटसहित र..