वडा कार्यालय भवन बनाउन विदेशी सहयाेग



धनुषा । स्थानिय तहले नसकेपछि धनुषाको एउटा वडा कार्यालय विदेशी दातृ निकायको आर्थिक सहयोगमा निर्माण भएको छ ।

धनुषाको दुर्गम बस्ती कमला नगरपालिका–९ दुरवरकोट हठलेटवामा वडा कार्यालयको नमुना भवन बनेको हो । बेलायत सरकारको आर्थिक सहयोगमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गैरसरकारी संस्था ग्रामीण पुनर्निर्माण नेपालमार्फत् धनुषामा सञ्चालित सामुदायिक विकास कार्यक्रमअन्तर्गत वडा कार्यालयको नमुना भवन निर्माण गरेको हो ।

सरकारले मुलुकभर नमुनाका लागि निर्माण गर्न लागेको एउटै डिजाइनको ६ वटा नमुना भवनमध्ये धनुषाको दुवरकोटमा वडा कार्यालय भवन निर्माण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका सहसचिव पुरुषोत्तम नेपालले बताए । 

सरकारले नमुनाका लागि दुर्गम पहाडी जिल्ला जुम्लाको तिला गाउँपालिका–४, जाजरकोटको छेडा गाउँपालिका–५, कालिकोटको तिलागुफा गाउँपालिका–६, तराईमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९, बाराको बारागढी गाउँपालिका–३ र धनुषाको कमला नगरपालिका–९ को नमुनाका लागि वडा भवन निर्माण गरेको हो ।

तराई र पहाडमा एउटै खर्च प्रतिभवन १ करोड ५१ लाखमा निर्मित ३ तले नमुना भवनमा १२ वटा कोठा छन् । उपभोक्ता समितिमार्फत निर्माण गरिएको नमुना वडा भवनको झ्यालढोका, रङ रोगन लगायत अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्