आज नेकपा स्थायी कमिटी बैठक बस्दै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज(मंगलबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।

सोमबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई खुमलटारस्थित निवासमा बोलाएर पार्टीको विवादबारे छलफल गरेका थिए ।

उक्त भेलामा सहभागि अधिकांश नेताहरुले अब बैठकबाटै निकास निकाल्न सुझाव दिँदै स्थायी कमिटिको बैठक रोक्न नहुनेमा जोड दिएका थिए ।

भेलाले पार्टीको विवादलाई तत्कालका लागि सुरक्षित अवतरण गर्ने ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको थियो ।

यसको अर्थ पार्टीको पूर्व माओवादीले तत्कालका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिने अडानबाट पछि हटेको संकेत हो ।

कुनै पनि हालतमा पार्टी फुटको संघारमा जान नहुने गरी निर्णय लिनुपर्ने सुझाव अध्यक्ष प्रचण्ड समक्ष राखेको पूर्वमाओवादीका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष र त्यसपछि प्रधानमन्त्री समेत बन्न प्रस्ताव गरेपछि प्रचण्ड समूह लचक बनेको अनुमान गरिएको छ । खुमलटार भेलामा प्रचण्डले आफूलाई महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्