खानेपानीमन्त्री मगरको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन



जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतको परिवारलाई न्याय दिनुपर्ने र खानेपानी मन्त्री बिना मगरले राजीनामा दिनुपर्ने माग गर्दै युवाहरुले सडक अबरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा इन्जिनियर गोइतको मृत्यु सरकारको लापरवाहीका कारण भएकोले आफुहरुले पीडित परिवारलाई राहत दिनुपर्ने, घटनाको निश्पक्ष छानबिन हुनुपर्ने र खानेपानी मन्त्री विना मगरले राजीनामा दिनुपर्ने माग गर्दै आज (बुधबार) स्थानीय कदमचोकमा बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा सडक अबरुद्ध गरि प्रदर्शन गरेको युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाले बताए ।

उनले मृतकको परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने र घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् । मेलम्चीको निर्माण कमसल भएका कारण सतिशको मृत्यु भएको उनको जिकिर छ । माग पुरा नभए कडा आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिएका छन् । प्रदर्शनको क्रममा प्रहरीले उनीहरुलाई रोक्न खोज्दा केहीबेर प्रहरी र युवाहरुबिच चर्काचर्की समेत भएको थियो ।

गत मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नं गेट फुट्दा २ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २ जना मध्ये धनुषाको कमला नगरपालिका वडा नम्बर–५ का २५ वर्षीय इञ्जिनीयर सतिश गोईतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो ।

उनको शव मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुरुङ निरीक्षण गरेर फर्कने क्रममा सुरुङको गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्