ट्युनिसियामा राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त



एजेन्सी : ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरूबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ ।

यसै महिनाको शुरुमा प्रधानमन्त्री एलिस फाखफाखले राजीनामा गरेका थिए । सत्तारुढ राजनीतिक दलहरूले भने राष्ट्रपति काइस साइदसमक्ष ४६ वर्षीय गृहमन्त्री मेचिचीको नाम प्रस्ताव गरेका थिएनन् । राष्ट्रपति कार्यालयको शनिबारको वक्तव्यलगत्तै एक विज्ञप्ति जारी गरी नवनियुक्त प्रधानमन्त्री मेचिचीले सबै ट्युनिसियालीको भावनालाई समेटी नयाँ सरकार गठन गरिने बताएका छन ।

सन् २०११ को अरब क्रान्तिपछि सफल लोकतान्त्रिक रुपान्तरण गरेको दृष्टान्त ट्युनिसियाले प्रस्तुत गरेको छ । तर कोरोनाभाइरसका कारण सीमाहरू बन्द गरिएपछि मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न थालेको र जनतामा सरकारप्रति नैराश्यता देखिन थालेको छ । कोरोनाभाइरसका कारण ट्युनिसियामा करिब ५० जनाको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

यसअघिको सरकारमा गृहमन्त्री रहेका मेचिचीले राष्ट्रपति काइसको कानुनी सल्लाहकारका रुपमा समेत जिम्मेवारी निर्वाह गरिरहेका थिए । यसअघि उनी यातायात मन्त्रालयको प्रमुख अधिकृत तथा समाज कल्याण मन्त्रालयमा समेत सेवा गरेका थिए । प्रधानमन्त्री मेचिचीलाई नयाँ सरकार गठन गर्न एक महिनाको समय दिइएको छ ।

प्रधानमन्त्री मेचिचीले संसदमा विश्वासको मत लिनुपर्नेछ र बहुमत सिद्ध गर्न सक्नुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संसद नै विघटन हुनेछ र तीन महिनाभित्र संसदको नयाँ चुनाव हुनेछ । गत अक्टोबरमा सम्पन्न आम चुनावमा इस्लामिक कट्टरपन्थी इन्नाधा पार्टीले सबैभन्दा बढी स्थान जितेको थियो तर बहुमत हासिल गर्न सकेको थिएन । अन्ततः गठबन्धन सरकार बनाउन इन्नाधा तयार भएको थियो । पाँच महिना पनि सरकार चलाउन नपाई प्रधानमन्त्री फाखफाखले जुलाईमा राजीनामा दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्