दुई अध्यक्षबीच छलफल बाँकी रहेको भन्दै नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । आज (मंगलबार) बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल बाँकी रहेको भन्दै बैठक स्थगित गरिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थाापाले जानकारी दिएका छन् ।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

आन्तरिक विवाद बढ्दै गएपछि असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । दुवै अध्यक्ष आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा लागेका छन् ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्