संविधान दिवसकाे अवसरमा ४२१ जना विभूषित हुँदै



काठमाडौं : सरकारले ४ सय २१ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसायआवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप सरकारले उनीहरुलाई विभूषित गर्न लागेको हो ।

पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म छन् ।

 

गृह मन्त्रालयका अनुसार पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ ।

 

महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदवी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् ।

 

सुप्रसिद्ध प्रबल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । यो पदक मिश्रलाई मात्र प्रदान दिइएको छ ।

 

उज्ज्वल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङ छन् । पोखरेल मोरङ र गुरुङ मादी गाउँपालिका, याङ्जाकोट कास्कीका हुन् ।

प्रबल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट सबैभन्दा बढी १६२ जना विभूषित हुने भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछानेसमेत परेका छन् ।

 

विभूषणका लागि छनोट भएकाहरुलाई शीतलनिवासमा एक समारोह आयोजना गरेर राष्ट्रपतिले विभूषित गर्ने गृह मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्