बाढीले कैलालीमा ६ हजार ३२० घरपरिवार प्रभावित



कैलालीः कैलालीमा बुधबार आएको बाढीले ६ हजार ३२० घरपरिवार प्रभावित भएको छ । कर्णाली, पथरैया, काँढा, कान्द्रा, मोहनालगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्र डुबानमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार जोशीपुर गाउँपालिकामा २ हजार ३१५ घर डुबानमा परेको छ । भजनी नगरपालिकामा २ हजार १८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८२५ घरपरिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि हजराै‌‌ घर डुवानमा परेको र घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएको छ भने भजनी नगरपालिकाका फरक-फरक ठाउँमा ४ वेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीना अनुसार ११ बर्षीय बालक स्केल चौधरी, ३३ वर्षिय चक्र बिक, ४० वर्षिय ईश्वर शाह र एक जनाको भने पहिचान हुन नसकेको हो । भजनीकै हेमन्त शाह र बिक्कि शाहको सकुसल उद्धार गरीएको छ । बेपत्ता भएकाको खोजी कार्य भैरहेको वडा नं.८ का वडाध्यक्ष पंकज चौधरीले बताए ।

त्यस्तै, जानकी गाउँपालिकाको वडा नं.३, ७, ८ र ९ का सयौँ घर डुवानमा परेको स्थानिय दिलबहादुर चौधरीले बताए । उनले भने, ‘‘कुला फुटेर बस्तीमा पस्दा हजराै‌ विघा खेतीयोग्य जमिन डुवान भएको छ, हजराै घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।’’ टीकापुर नगरपालिकाको वडा नं.५ शाहीपुर, सिम्रेनी, वडा नं.६ को बेलुवा बस्ती डुवानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा सो क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षापछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्किने जोखिम छ । तटबन्ध भत्कीन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीय बडघर धर्मराज जैसीले बताए ।

उनले भने,‘‘वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्, उद्दारका लागि शाहीपुर सिम्रेनी जान सक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सार्नुपर्नेछ ।’ लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको वहाव बढेको छ । जमरा नदीमा पानी सहतभन्दामाथि पुगेपछि बस्तीमा बग्न थालेको र जमरा नदी नियन्त्रण गर्ने अवस्था नरहेकोले नदी भरिएर पानी बस्तीमा पस्न थालेको हो ।

कुलरिया कुला समितिका सोहनलाल कठरियाले जमरा कुलालाई नियन्त्रण गर्न नसकिने बताएका छन् । टीकापुर बजारको सबै पानी जमरामा निकास हुने गरेको छ । जमरा नदी भरिएपछि टीकापुरको पानी निकास हुन नसक्ने देखिएकोले टीकापुर थप डुवानमा पर्ने जोखिम बढेको छ । टीकापुरमा निर्माणाधिन ६ लेन सडक र ब्लक नं. ए ढल निकास तथा सडक निर्माण कार्य अलपत्र भएपछि थप जोखिम बढेको हो ।

पानी बस्तीमा पसेपछि टीकापुरस्थित किसान बिजबृद्धि कृषि सहकारी संस्थामा रहेको गहुँको बीउ र मौजाद मल भिजेर नष्ट भएको छ । नदी पुलमाथि ६ फिट माथिबाट पानी बग्न थालेपछि सामान सार्न जान सक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले बताएका छन् । टीकापुरमा रहेका सिँचाइ कुलाहरु भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए ।

स्थानीय रामकुमार चौधरीको घर नजिक तटबन्ध भत्काउँदै पथरिया नदी गाउँ पसेपछि दैलेखी टोल, कुसुमघाट, कृष्णनगर, गोरचौडा, खैरा र सोनाहाफाँटा गाउँ डुबानमा परेको हो । गोरचौडामा बढीमा फसेका एक युवालाई प्रहरीले उद्धार गरेको छ भने उनी चढेको मोटरसाइकल बाढीमा बगेको छ । से ३ प ४६७० नं.को मोटरसाइकलमा रहेका भजनी-३ कन्हैयापुरका अस्मित चौधरीलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उनी गोरचौडामा आफन्तलाई भेट्न गएका थिए ।

वडा नं.३ मा काँडा नदीले ढुसीमा तटबन्ध भत्काएको छ । नदी गाउँ पसेपछि पकरिया डाँडा, ढुसी गाउँ, कन्हैयापुर डुबानमा परेका छन् । वडा नं.५ लालबोझीमा मा ३ सय ५० घर डुवानमा परेपछि त्यहाँका १ हजार ८ सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजमार्गमा लगिएको कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताए । भजनीका स्थानिय राजेन्द्र चौधरीका अनुसार भजनी ३ र ७ मा रहेका हजराै घर डुवानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सारिएको छ । कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा पानीको बहाव बढेकोले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सारेको बताए । उनले भने,‘‘जहाँ जहाँ जोखिम छ त्यहाँ समूहमा प्रहरी परिचाल गरेका छौँ, स्थानीय स्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ, जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रहरी उद्दारमा खटेको छ ।’’

कर्णाली नदीको बाढी खतराको नजिक :

कर्णाली नदीको बाढी खतराको नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापन अनुसार पानीको सतह १० मिटर नाघेको छ । १०.८ मिटरलाई खतरा मानिएको छ । अविरल वर्षा र कर्णालीमा बाढी बढेकाले जमरा र कुलरियामा पानीको सतह अत्याधिक बढेको हो ।

जमरा कुलरिया, चुरेबाट बगेको कान्द्रा, काडा, पथरैया, मोहना, कर्णाली नदी तटका बस्तीमा बाढीको खतरा बढेकोले नागरिकलाई सचेत रहन भनिएको छ । पछिल्लो २४ घन्टामा कैलालीमा अविरल वर्षा भएकोले त्यहाँका धेरै बस्तीहरु डुवानमा परेका छन् । हजराै घरपरिवार प्रभावित छन् । कच्ची घरहरु भत्केका छन् । बस्तीमा रुखहरु ढलेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ८ः ४५ देखि बुधबार बिहान ८ः ४५ सम्म टीकापुर क्षेत्रमा २ सय ७१.२ मिलिमिटर वर्षा भएको थियो । बाढी पूर्वानुमान महाशाखाका अनुसार टीकापुरमा मंगलबार राति ३ घन्टामा १ सय १० मिलिमिटर वर्षा भएको थियो । टीकापुरमा यसअघि सन् १९७८ जुलाई १८ मा एकैदिन २ सय ९८.९ मिलिमिटर पानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्