केन्द्रीय कार्यकारिणी बैठक एजेण्डाको सघन गृहकार्यमा जसपा



काठमाडौं : जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितीको बैठक आगामी साता बस्ने भएको छ । पार्टी केन्द्रमा कार्यकारिणी समिति निर्माण भएसँगै आवश्यक केन्द्रीय विभाग तथा जनवर्गीय संगठनदेखि प्रदेश र स्थानीय तहसम्म पार्टी समायोजनसहित एकताको भाव संप्रेषण गर्न लागि परेको छ ।

यसका लागि आन्तरिक गृहकार्य गरी आवश्यक निर्णयहरु लिन पार्टीको केन्द्रीय कार्यकारिणी समितीको बैठक बस्न लागेको हो । बैठक यही साउन २१ गते बुधबार बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय भएको जसपा नेता लक्ष्मणलाल कर्णले द नेपाल टपलाई जानकारी गराए ।

उनका अनुुसार बैठकमा केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकता समायोजनका लागि आन्तरिक गृहकार्यको टुंगो लगाउनुका साथै त्यसका लागि आवश्यक कार्यविभाजन गरिने छ ।

२१ गते बस्ने कार्यकारिणी समितीको बैठकमा समायोजनको प्रक्रियालाई गति दिने गरी शीर्ष नेताबीच औपचारिक गृहकार्य भइरहेकाले बसाइमा यसले ठोस आकार ग्रहण गर्नसक्ने बताइएको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका बीचमा १० वैशाखमा रातारात एकीकरण घोषणा भएर बनेको जसपाले विचार तथा शासन पद्धतिको टुंगो आगामी महाधिवेशनबाट लगाइने सहमति गरेको छ ।

महाधिवेशन नजिकिदै गर्दा पार्टी विधानसहित घोषणा पत्र पनि तयार पारिएको बताइएको छ । विधानतः देशभर ११ वटा केन्द्रीय संरचना रहने व्यवस्था गरिएको छ । विधानमा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशन, संघीय परिषद, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहनेछन् । यी सबैको नेतृत्व पार्टी शीर्ष नेताले गर्ने व्यवस्था गरिएको छ ।

सांगठनिक रुपमा पार्टी शीर्ष तहमा संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष गरी नौ पदाधिकारीको व्यवस्था गरिएको छ भने प्रदेश समितीमा अध्यक्ष–१, उपाध्यक्ष–५, मुख्य सचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित ९९ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ ।

पटकपटक स्थगित भएर हुन नसकिरहेको केन्द्रीय कार्यकारिणी समितिको बैठक सबै तयारी पुगिसकेकाले अहिले भने बस्ने निश्चित देखिएको छ । यसबीचमा पूर्वनेतृ सिरता गिरीमाथि अनुशासनको कारवाही गरिएपछि रिक्त हुन आएको संघीय सांसद पदमा अर्की नेतृ लिला सिटौलालाई पद तथा गोपनियताको सपथसँगै रिक्त हुन आएको पदपूर्ति गरिएको छ ।

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्