कैलालीमा बाढीको वितण्डाः खाना बस्नको समस्या, ३ जनाको मृत्यु



काठमाडौं: कैलालीमा ३ दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले त्यहाँको जनजिवन प्रभावित बनाएको छ ।

बाढीमा बगेर ३ जनाको मृत्यु भएको छ भने हजरौं घर विस्थापित भएका छन् । मृत्यु हुनेमा बाढीमा बेपत्ता भएका भजनी नगरपालिका-८ का ३२ वर्षीय चन्द्र विक, भजनी नगरपालिका-८ सोनाहफाटाका ११ वर्षीय स्केल चौधरी र सोही ठाउँका ४० वर्षीय ईश्वर शाही रहेका छन् । उनीहरु तिनै जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन् ।

कैलालीमा रहेका काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए । बाढीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, र टीकापुर क्षेत्रको केही बस्ती डुबानमा परेको थियो ।

भोलीको निरिक्षणः
जानकी गाउँपालिकाको वडा नं. ३, ७, ८, ९ को घर, जोशीपुर गाउँपालिकाको-१, ३ र ५, को पुरै बस्ती र भजनी नगरपालिकाको वडा नं.८ को छछ्राहुवा, बहादुरपुर, जनकपुर, गोरचौरा, खैरा, सोनाहफाटा, बर्दहुवाफाटा, कृष्णपुर लगायतको सबै बस्ती बाढीले विस्थापित गरेको स्थानिय प्यारेलाल चौधरीले बताए ।

कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । उनले भने,‘अहिले अवस्था सामान्य बन्दै गइरहेको छ ।’ कैलालीले अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको हो ।

त्यस्तै, संविधान सभा सदस्य तथा संसदीय सांसद गौरीशंकर चौधरीले भने,‘अहिले पानी रोकिएकाले अवस्था समान्य बन्दै गएको छ र सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलगायतको हाम्रो टीम भोली विहान निरिक्षणमा जाँदैछौं ।’ उनले बाढी पिडित सबै ठाउँको निरिक्षण गर्ने बताए । केही राहतको सामग्री वितरण गरेको र आवश्यक परेको समान निरिक्षणपछि वितरण गर्ने जानकारी दिए ।

विस्थापितहरू सडक तथा विद्यालयमाः
जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ । जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टिकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।

अहिले टिकापुर जोशीपुर र जानकी गाउँपालिकाको अवस्था सामान्य भएपनि भजनी गाउँपालिकामा भने अझै अधिकांश नागरिक घर फर्किन सकेका छैनन् । बाढीले विस्थापित भएका उनीहरु अहिले हुलाकी सडकमा त्रिपाल टाँगेर बसेका छन् । ‘अहिले पनि उद्धार कार्य जारी छ,’ उनले भने, ‘डुबानका कारण विस्थापित भएकाहरू सडक तथा विद्यालयमा बसेका छन् ।’ पानीको बहाव घट्दो क्रममा रहेकाले केही व्यक्तिहरू भने घर फर्किसकेको उनले बताए ।

घर फर्किन नसक्नेहरू भोकैः
कैलालीको भजनी नगरपालिका-८ को पुरै बस्ती बाढीले विस्थापित भएको छ । सयौँ परिवार अहिले पनि हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् । तर त्यहाँ बसेकाहरू अधिकांशले ३ दिनदेखि खान नपाएको गुनासो गरेका छन् । चाउचाउ र चिउराले भोक मेटिरहे पनि अहिले त्यसको पनि अभाव भएको स्थानीयको भनाइ छ ।

बाढीले घरमा भएको अन्नपात खानेपानीको समेत समस्या गराएकोले घरबाट विस्थापित भएकाहरूलाई खाद्य संकट सुरु हुन थालेको छ । उनीहरूलाई खानासँगै पिउने पानीको पनि समस्या सुरु भएको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले बताए । उनले भने, ‘सयौँ परिवार अहिले पनि सडकमा छन् । घर फर्किन नसक्नेहरू भोकै छन्, अहिले हामीले चाउचाउ चिउराको व्यवस्था गरेका छौँ । त्यसले मात्रै भोक मार्न सक्ने अवस्था छैन ।’

क्षतिको स्थलगत अवलोकनः
कैलालीस्थित कैलारी गाउँपालिकामा बाढीले गरेको क्षतिको स्थलगत अवलोकन गरिएको छ । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित गाउँपालिकाका कर्मचारीको टोलीले बाढीले गरेको क्षतिको अवलोकन गरेको हो ।

बुधबार आएको बाढीले सो गाउँपालिकाको वडा नम्बर ७ मा केही मात्रामा क्षति गरेको छ । बसन्तास्थित कटैनी नदीमा निर्माण गरिएको काठे पुल आधा भत्काएर बाढीले बगाएको गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको ५ लाख रुपैयाँ सहयोगमा सो पुल बनाइएको थियो । बाढीले सोही वडामा ३ वटा घर भत्काएको उनले बताए । टोलीमा गाउँपालिकाका सामाजिक विकास शाखा अधिकृत यगम कँडेल, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटालगायतको टोलीले बसन्ता र भुईयाफाँटा क्षेत्रमा कटैनी र मोहना नदीले गरेको क्षतिको अवलोकन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्