सेती नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीको शव फेला



धनगढीः सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवै जना स्वास्थ्यकर्मीको शव फेला परेको छ ।

सोमबार बेपत्तामध्ये बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंहको पनि शव फेला परेको छ । उनको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल भेटिएको हो ।

शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले शव फेला पारेको डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । ‘केहिबेर अघि शव भेटिएको खबर आएको छ । अहिले प्रहरीको टोली त्यहाँ पुगेको छ तर त्यो शव बेपत्ता भएका सिँहकै हो भन्ने पहिचान हुन बाँकी छ ।’ उता डडेल्धुरा अस्पतालका कर्मचारीहरुले भने भेटिएको शव सिँहकै भनेर पुष्टि गरेका छन् ।

यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो । उनको शव घटनास्थल भन्दा निकै टाढो शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका थिए ।

शनिबार डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै डोटीस्थित शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए । मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो । बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंह बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्