‘निर्मला पन्त हत्यामा संलग्न पर्दापछाडिका खेलाडी छिट्टै बाहिर आउँछन्’



कैलाली : स्थानीय तह निर्वाचनको झण्डै दुई वर्ष पुग्न लागेको छ। विकास निमार्णमा जनताले चाहेजस्तो अनुभूति गर्न सकेका छैनन्। जनप्रतिनिधिहरु जनताको सेवामा भन्दापनि आफ्ना सेवा सुविधा र कार्यक्रता पाल्न लागिपरेको भन्दै जनगुनासो आइरहेका छन्। 

देश संघीय संरचनामा गएपछि लामो समय विभिन्न आन्दोलन बन्द हडतालको चपेटामा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निमार्णमा के कस्ता प्रगति गरेको छ, आम जनताको चासोको विषय बनेको छ। भीमदत्तका मेयर सुरेन्द्र विष्टले झण्डै नौ महिनादेखि अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको निर्मला हत्या प्ररकरण, महेन्द्रनगर नगरविकास समितिको जग्गा घोटालाजस्ता थुप्रै आन्दोलन र बन्दको सामना गर्दै आएका छन्।  

आफू निर्वाचित भएपछि नगरले विकासका क्रियाकलापमा निकै फड्को मारेको  मेयर विष्ट बताउँछन्। भन्छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्या हुनु निकै दुःखको विषय हो, तर अपराधीलाई पत्ता लगाउन सहयोग गर्नुको साटो व्यक्तिगत स्वार्थका लागि केही व्यक्तिले राजनीतिक मुद्दा बनाए। यिनै तथा नगरका अन्य विषयमाथि रहेर मेयर विष्टसँग द नेपालटपका सुदूरपश्चिम संवाददाता तेज बाहोराले गरेको कुराकानीको अंश 

पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ?

नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति कार्यक्रम र योजना बनाएको थियो, तिनै कार्यक्रमलाई कार्यान्वयन गराउने क्रममा व्यस्त छु। 

अहिले तपाईंको स्थानीय तहले कसरी काम गरिरहेको छ? 

स्थानिय तहले आफ्नो बजेट कार्यक्रम, योजना र नीतिको माध्यमबाट दिगो विकास गर्ने हिसाबले नगरको समद्धि र नगरबासीलाई सुखी बनाउने किसिमले जाँदै छौं। नगरको वार्षिक कार्ययोजना बनाएर अगाडि बढेका थियौं, त्यसलाई एक चरणमा एक वर्षभित्रै पूरा गर्छौं। अर्को बहुबर्से कार्यक्रमलाई पनि समयमै सम्पन्न गर्न मातहतका सबै संयन्त्र परिचालित गरेका छौं।

अहिलेसम्म अल्पकालीन कार्यक्रम के के भए ? 

भौतिक पूर्वाधारअन्तर्गत भर्खरै मात्र जैविक धार्मिक मार्ग करिब १५ किलोमिटर लम्बाई र १८ मिटर चौडाइ बाटो बनाएर छोटो अवधिमा काम गर्न सकिन्छ भन्ने उदारण दिएका छौं। जसले बस्ती र जंगललाई छुट्याएको छ, जुन क्षेत्र घाडीघाचँ क्षेत्र हो, त्यो क्षेत्रमा गरिब जनता थिए। आयआर्जनको श्रोत थिएन, एम्बुलेन्स, दमकलजस्ता अत्या आवश्यक साधान आवतजावतको लागि बाटो थिएन्। त्यसलाई सम्पन्न गरिसकेपछि फेरि बाह्य चक्रपथको रुपमा निर्माण गर्न खोज्दै छौ। शुक्लाफाँटा पर्यटन मार्गको रुपमा अघि बढाउँदै छौं। सँगसँगै बाटो ग्राभेल बनाउने, कालोपत्रे गर्ने, स्कुलका पूर्वाधार निमार्ण, खानेपानी, कृषि, सिँचाइ जस्ता क्षेत्रमा काम गरिरहेका छौं। 

नीति निर्माण र कानुन बनाउने सबालमा के गरिरहनुभएको छ? 

कानुन निमार्णमा पनि ५३ वटा नयाँ कानुन बनाइसकेको अवस्था छ। त्यसैगरी कार्यक्रम कार्यान्वयन, अनुगमनमा जोड दिइरहेका छौं। सुशासनका कुराहरुमा पनि जनताले छिटो सेवा सुविधा पाऊन् भन्ने किसिमले सबै वडा कार्यालबाट सेवा प्रवाहमा चुस्तता दिइरहेका छौं। 

चालु आर्थिक वर्षमा बजेट कति थियो, खर्चको अवस्था कस्तो छ? 

नगरपालिकामा साधारण र पुँजीगततर्फ १ अर्ब १६ करोड रुपैयाँ विनियोजित गरिएको थियो। खर्चको अवस्था सन्तोषजनक छ। भीमदत्त नगरपालिकाले एक्लैले गर्न नसक्ने काम पीपीपी मोडेलबाट जाँदै छौं। 

जनप्रतिनिधि आएको दुई वर्ष हुनै लाग्दा पनि जनताले विकासको खासै अनुभूति गर्न पाएका छैनन् नि, किन?

स्वाभाविक रुपले जनताको चाहनाअनुसार जति ण्छिटो काम हुनुपथ्र्यो त्यो नभएको यथार्थ कुरा हो। त्यसको पछाडि थुप्रै कारण छन्, नगर लामो समयसम्म द्वन्द्वमा रह्यो, विकास निमार्णका काम सुरु हुन सकेनन्। भएका संरचना पनि तहसनहस पारियो। स्थानीय निकायको निर्वाचन सम्पन्न भएको लामो समयसम्म कर्मचारी अभाव अझै उस्तै छ। भौतिक संरचनाहरुको अभाव कायमै छ। अझै पनि कर्मचारी समायोजनले थुप्रै विकास निमार्णका काम सञ्चालन हुन सकेका छैनन्।

तपाईंहरुले सेवा प्रवाहमा पनि खासै ध्यान पु-याउन नसकेको गुनासा छन् नि?

अब आम रुपमा के छ कुनै ठाउँका घटना परिघटनाले निष्कर्षमा पुगिहाल्नुपर्ने अवस्था छैन। हामीले त जनताको गुनासो सुन्न टोल फ्री नम्बर व्यवस्था गरेका थियौं। त्यहाँबाट पनि जनताका गुनासा सम्बोधन गर्न सहज भइरहेको छ। जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम प्नि भइरहेका छन्। 

काममा भन्दा पनि आर्थिक उपार्जन मै जनप्रतिनिधिहरु लिप्त भइरहेका छन् भन्ने आरोप लाग्छ, के भन्नुुहुन्छ? 

यी यस्ता आरोप त कतिपय ठाउँमा सत्य पनि होलान्, यदि त्यस्तो छ भने प्रमाणसहित आउनु पर्छ। तर आम रुपमा जनप्रतिनिधि यस्तो भए भन्ने प्रश्न खडा भए त्यसको जवाफ दिन सक्दैनौं। 

विकास निर्माणदेखि कानुन बनाउने सवालमा केन्द्रीय सरकारबाट कत्तिको सहयोग पाइरहनुभएको छ? 

केन्द्र सरकारबाट असहयोग भइरहेको छ। कानुन निर्माण, बजेट वितरण, कर्मचारी समायोजन, योजना छनोटलगायत काममा ढिलाइ भइरहेको छ। आस गरौं यी यस्ता समस्या चाँडै समाधान हुनेछन्। 

तपाईं निर्वाचित भइसकेपछि यस क्षेत्रमा केही घटना भए, जसले राष्ट्रियस्तरमै ठाउँको छवि धुमलियो, तपाईंमाथि पनि निकै समस्या आयो होला? कसरी सामना गर्नु भो त? 

निर्मला पन्तको बलात्कारपछिको हत्या मेरै क्षेत्रमा भयो। अहिलेसम्म अपराधीमाथि कारबाही हुन सकेको छैन। प्रहरीको अनुसन्धान जारी नै होला। म मेरो तर्फबाट पन्तका परिवारलाई र पीडितलाई न्याय दिन सधैं तयार छु। यस घटनालाई लिएर व्यक्तिगत स्वार्थ पूरा गर्नेहरु बढे। घटनामा राजनीति भयो। अपराधी पत्ता लगाउनेभन्दा पनि अन्य उद्देश्यबाट घटनालाई भ्रमित पार्न खोजियो। तर, समयसँगै यो पर्दाफास हुन्छ। पर्दा पछाडिका सबै अनुहार बाहिर आउँछन्। र नगरविकास समितिमा नियमविपरीत बनेका घर टहरा घट्ने छन्। समितिको नियम कानुनमा काम अघि बढाइएको छ।  

अन्त्यमा यस स्थानीय तहले भोग्नुपरेका बाँकी समस्या पनि भन्दिनुहोस् न। 

कानुन र कर्मचारी अभाव छँदै छ। कर्मचारी पनि प्रविधिमैत्री भएनन्। जनताको तीव्र विकासको चाहना छ। हामीसँग सीमित स्रोत र साधन र बजेट छन्। त्यसलाई सन्तुलित रुपमा वितरणका लागि स्वाभाविक रुपले अप्ठ्याराहरु छन्। 

प्रतिक्रिया दिनुहोस्