पार्टी विवाद सडकमा पुगेपछि प्रचण्ड र नेम्वाङबीच गोप्य भेटघाट



काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सघन संवाद, छलफल जारी रहँदा सचिवालयको चारजना सदस्यले अलग्गै पत्रकार भेला, जमघट आयोजना गरेपछि नेकपा फुटको सङ्घारमा पुगेको त होइन भन्ने प्रश्न खडा भएको छ ।

पार्टीभित्रको विवाद छिरिलिएर सडकमा पुगेपछि अहिले पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङ गोप्य भेटघाट भइरहेको छ । अध्यक्ष प्रचण्ड र संसदीय दलका नेता नेम्वाङबीच खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि भेटवार्ता जारी छ ।

स्रोतका अनुसार प्रचण्डको निवासको माथिल्लो कोठामा उनीहरुबीच गम्भीर कुराकानी भइरहेको छ । बुधबारको परिघटनापछि नेकपा विवादले नयाँ मोड लिएको छ । आफूहरु विरुद्ध प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मैदानमा उत्रिएपछि ओली समूह अलग्गै रणनीति बनाउन जुटेको छ ।

ओलीइतर समूहले भेला, छलफललाई तलतलसम्म लगिसकेका छन् । कोरोना सहज भएका जिल्लामा त्यस्ता गुट–विचार समूहका नाममा हुने भेलाले तीव्रता पाएको छ ।

ओली समूहले पनि त्यस्तै समानान्तर भेला बैठकको तयारी गरिरहेको छ । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जवाफी भेलाको योजना बनाइरहेको छ ।

केपी ओली लचिलो बन्दै भएका बेला अलग्गै पत्रकार भेला गरेर पार्टी फुटको सन्देश दिइएको र ओलीलाई जथाभावी मुख छाड्ने काम भएको ओली पक्षको आरोप छ । यस्तै अवस्थामा अगाडि जान नसक्ने भन्दै अब वारपारको हिसाबले वार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्