नेकपा विभाजनको डिलमा : उपत्यका नछोड्न सांसदहहरुलाई उर्दी



काठमाडौं : सत्तारुढ नेकपा भित्रको विवाद गम्भीर मोडमा पुगेको छ । पछिल्लो पटक आइतवारदेखि मंगलवारसम्म निरन्तर प्रधानमन्त्री एंव अध्यक्ष केपी ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक फेरि बस्न नसक्ने अवस्थामा पुगेर रोकिएपछि नेकपाको विवाद गम्भीर मोडमा पुगेको हो ।

ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छ । यसरी दुई नेताहरुको टकरावले फुटको संघारमा नेकपा पुगेको छ ।

पार्टीको विवाद गम्भीर मोडमा पुगेपछि बिहीबारदेखि विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं छन् । त्यसैगरी दुबै पक्षले संघीय संसदका सांसदहरूलाई पनि केहि दिनदेखि राजधानीमै केन्द्रित रहन आदेश दिइएको छ ।

बालुवाटार र खुमलटार दुबैतर्फ आफूनिकट भनिएका सांसदहरुको मोलमोलाई हुने हल्ला चलाइएको छ । तर, नेकपाभित्र यतिबेला सांसद तानातानको अवस्था छ । अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुलाई आकर्षित गर्न निकटस्थलाई परिचालन गरेका छन् । उक्त पक्षको दाबी अनुसार प्रचण्ड र नेपाल पक्षका गरी २० जना सांसद ओली पक्षमा पुगेका छन् ।

योसँगै संसदीय दलमा ओलीको स्पष्ट बहुमत रहेको दाबी गरिएको छ । तर, प्रचण्ड र माधव नेपाल पक्षधरका सांसद यताउता नहुने भन्दै उक्त पक्ष ढुक्क छ ।

पार्टीका कुनै पनि कमिटिका बैठक बोलाउन अध्यक्ष केपी ओली तयार नभएपछि विवादको टुंगो लगाउनका लागि सांसदहरूको भूमिका बढाउनेतर्फ लागिएको हो वा संसदको विशेष अधिवेशन बोलाउनका लागि सांसदहरुलाई राजधानीमा रोकिएको भन्ने बारेमा भने वालुवाटार र खुमलटार दुवै ठाँउबाट स्पष्ट पारिएको छैन् । पार्टी विभाजन रोक्ने प्रयास जारी छ । तर सकारात्मक दिशा भने पर्किन सकेको छैन । शनिबार पनि प्रधानमन्त्री ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल ‘प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

पार्टीभित्रको विवाद साम्य गर्न पार्टी दुई अध्यक्ष मिलेर सहमति खोज्नु पर्नेमा पौडेल र पोखरेलको जोड थियो ।

यस्तै गत साउन १३ गतेको स्थायी कमिटी बैठकपछि अध्यक्ष ओली प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित लगातार तीन दिनसम्म दैनिकजसो संवाद गरेका थिए।

दुई अध्यक्ष आ–आफ्नो अडानमा कायमै रहेपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जान छोडेपछि ओली पक्षीय नेताहरु खुमलटार धाउन थालेको अवस्था छ । विहीबार पनि सुवास नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । तर, प्रचण्ड माधव नेपाल समूह प्रधानमन्त्रीको विकल्प खोज्नु पर्ने अन्तिम निष्कर्षमा पुगिसकेको छ ।

शुक्रबार होटल मेरियटमा हिजो डाकिएको अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समुहले बोलाएको सम्पादकहरूको भेला अकस्मात रोकेर प्रचण्ड नेपाल समूह गोप्य रणनीतिमा लागेको बताइएको छ ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्