४ लाखको सुपारीले २ जनाको हत्या



धनगढीः कञ्चनपुरमा ४ लाखको सुपारी लिएर दम्पत्तीको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती वालादेवीको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्या आरोपमा पक्राउ पर्नेमा बेलौरी ७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, हात्तीबोझका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका वडा नं.२ का ४५ वर्षीय रबि राना रहेका छन् ।

४ जनाले खाती दम्पत्तीको योजनाबद्ध रुपमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए ।

गत शुक्रबार राती धारिलो हतियार प्रहारबाट वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता देखिएको थिएन । अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले ४ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए ।

छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद भएकाले प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई ४ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएका अनुसन्धानबाट खुलेको छ ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्