कमलादी १५ किलो सुन प्रकरणमा संलग्न अन्सारी पक्राउ



काठमाडौं : जाली नोट कारोबारी र कमलादी १५ किलो सुन प्रकरणमा खोजी गरिएका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरेको हो ।

हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् । उनलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

गत साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकारी दिएको थियो । सुन्धाराबाट बरामद भएको सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदी सुनको जलप लगाएको भेटिएको थियो ।

अन्सारी सोही सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो ।

काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीव्र बनाएको थियो ।

अन्सारी ०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए । जिल्ला अदालत ललितपुरले २०६७ जेठमा दोषी ठहर गर्दै तीन वर्ष कैद र २ करोड ६१ लाख रुपैयाँ विगो सुनाएको थियो ।

अन्सारीले हरेक अपराधमा फरकफरक नाम बताएर संलग्न हुने गरेका छन् ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्