ओली–प्रचण्डबीच चार घण्टा लामो सम्वाद, भोलि फेरी बस्ने



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार पुनः भेटवार्ता हुने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो सम्वाद सकारात्मक भएको र शुक्रबार पुनः बस्ने सहमति भएको बताइएको छ ।

नौ दिनपछि अध्यक्षद्वयबीच भएको भेटवार्तामा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँट, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको थियो । महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा दुई अध्यक्षबीच संवाद र सहमति जुटाउने कोशिषमा लागेका थिए ।

यता बुधवार नै अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष प्रचण्डलाई र उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए ।

त्यसोत असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।

ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्