कोरोनाबाट सिरहाका पुरुषको मृत्यु



विराटनगर : कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको बिहीबार राति विराटनगरमा मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पतालको आयसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको राति ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएको थियो । कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट भने बिहीबार साँझ ७ बजेमात्रै आएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको डा. दासले बताए ।

उनकाअनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो। उनको शरीरमा रगतको पनि कमी देखिएको जानकारी डा. दासले दिए ।

अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो । तर, धरानले संक्रमितले भरिएका कारण बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको दासको भनाइ छ ।
कोशी अस्पतालको आइसोलेसनमा कोरोनाका शंकास्पदलाई राखेर प्रारम्भिक चरणको उपचार मात्रै हुन्छ ।

यस्तै बिहीबार दिउँसो विराटनगर–१५ का ३० वर्षीय पंकज गुप्ताको पनि कोशी अस्पतालकै आइसोलेसनमा मृत्यु भएको थियो । तर, मृत्यु भएपछि साँझ ७ बजे उनको कोरोना रिपोर्ट नेगेभिट आएको थियो । कोरोनाको लक्षण देखिएका युवाको मृत्यु भए पनि रिपोर्ट नेगेटिभ आएको भन्दै शंका लागेर चिकित्सकले अर्को पटक पनि स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएका छन् । तर त्यसको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्