मधेश काँग्रेसकोे, काँग्रेस मधेशको हो : सीतादेवी यादव



नेपाली काँग्रेसमा सीतादेवी यादव एक्लो महिला जिल्ला सभापति थिइन् । उनी २०५८ सालदेखि लगातार सिरहाका पार्टी सभापति छन् । २०५७ सालमा श्रीमान् चन्द्रनारायण यादवको हत्या भएपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् । २०५७ सालको जिल्ला अधिवेशनमा उनी निर्विरोध सभापति भएकी थिइन् भने त्यसपछि दुई पटक चुनाव जितेर नै सभापति बनेकी थिइन् । २०६४ सालमा अन्तरिम संसद गठन हुँदा तत्कालिन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाले उनलाई अन्तरिम संसदको रुपमा मनोनित गरेका थिए । २०७० सालको संविधान सभामा निर्वाचित भएकी यादव शान्ति तथा पूनर्निर्माण मन्त्री समेत बनेकी थिइन् ।

पार्टीमा सक्रिय र लगनशील काँग्रेसका कोषाध्यक्ष यादवसँग पार्टीको केन्द्रीय विभाग गठन, महाधिवेशन, मधेशमा काँग्रेसको अवस्था लगायतका विषयमा केन्द्रित भई द नेपाल टपकी समाचारदाता आशा साहले गरेको कुराकानीको सारसंक्षेप :

काँग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीको केन्द्रीय विभागमा मनोनयन गर्नुभएको छ । काँग्रेसभित्र यसको विरोध भइरहेको छ । तपाईले यसलाई कसरी हेर्नुभएको छ ?
– यो विधान विपरित हो । महाधिवेशनको मिति तिथि घोषणा भइसकेको छ । सभापति शेरबहादुर देउवाजीले विभाग गठन गर्नु राम्रो होइन ।

काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेसँगै विवाद पनि बढ्दो छ । यसका खास कारण के हुन् ?
– महाधिवेशनको मुखमा विवाद एकदमै चर्किएको छ । जे पनि हुन सक्छ । यो राम्रो कुरा होइन । मेरो विचार पनि यही हो विवाद नगर्नु पर्थ्यो । यो विवाद विभाग गठनकै करणले भएको हो ।

शीर्ष नेताहरुको आरोप–प्रत्यारोपले महाधिवेशन प्रभावित हुने सम्भावना देखिन्छ । समाधानको बाटो के हुन सक्छ ?
– पार्टीभित्र विभाग गठन भएपछि शुरु भएको विवाद समाधानका लागि गठन भएका विभागहरु खारेज हुनुपर्छ । क्रियाशिल सदस्यता वितरण पारदर्शी रुपमा विधान बमोजिम हुनुपर्छ । वडा तहबाहेक कसैले माथिबाट क्रियाशिल सदस्यता वितरण गर्नु भएन । क्रियाशिल सदस्यता कार्यकर्ताको माझमा पारदर्शी हुनु पर्यो । महाधिवेशनलाई असर पर्ने गरी क्रियाशिल सदस्या वितरण गर्नु भएन । क्रियाशिल सदस्य नै महाधिवेशनको मूल पाटो हुन् ।

सबै मिलेर समाधान गरे विवाद समाधान हुन्छ । एक पक्षले समाधान गरेर मात्रै हुँदैन । सबै मिलेर समाधान गर्दा सबैमा राम्रो म्यासेज जान्छ पार्टीको लागि । हाम्रो पार्टी ठूलो लोकतान्त्रिक पार्टी हो । जहाँ पनि वादविवाद हुन्छ, र पुनः समाधान हुन्छ । विवाद समाधान गरेर महाधिवेशनमा जानुपर्छ ।

नेपाली काँग्रेसभित्र सभापतिको उम्मेदवारका रुपमा नेताहरुले आकांक्षा राख्न थालेका छन् । तपाई त १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको प्यानलबाट कोषाध्यक्षमा विजयी हुनुभयो । अहिले तपाई कुन पदको आकांक्षी हुनुहुन्छ ?
– मेरो कुनै पदको लागि आकांक्षा छैन । मेरो आकांक्षा मात्र यति हो–काँग्रेस पार्टी राम्रो होस्, बलियो होस् ।

काँग्रेस पार्टीमा तपाई एक्लो महिला जिल्ला सभापति हुनुहुन्थ्यो । २०५८ सालदेखि लगातार सिरहाका सभापति हुँदै आउनुभएको छ । यस हिसाबले मधेशमा काँग्रेसको वर्तमान अवस्था कस्तो छ ?
– मधेशमा काँग्रेसको वर्तमान अवस्था राम्रो छ । तर, हाम्रो गुट र उपगुटको कारण अहिले बिग्रेको छ । २०७४ सालको आम निर्वाचनमा टिकट वितरणमा भएको गल्तीको कारणले समस्या आएको हो । टिकट वितरणमा राम्रो मान्छे होइन हाम्रो मान्छे छान्दा यस्तो भएको हो र अनुशानको कमिले एक–अर्कामा घातप्रतिघात भएका कारण यस्तो अवस्था हुन गएको हो । हैन भने मधेशमा कांग्रेसको अवस्था राम्रै छ ।

मेरो कार्यकालमा मैले विधि र विधानअनुसार सबै काम गरेको थिएँ । २०५८ सालदेखि ०६२/६३ को आन्दोलनसम्म । ०७० सालको संविधान सभाको निर्वाचनमा सिरहाबाट काँग्रेसले छ सिटमध्ये चार सिटमा विजयी भएको थियो । किन कि मैले गुट र उपगुट गरिन । मैले विधि, विधान, नैतिकता र पूर्ण इमान्दारीपूर्वक पार्टीको लागि काम गरे । त्यसैको परिणाम हो काँग्रेसले छ सिटमध्ये चार सिट जित्यो र संसदमा आयो ।

विधि, विधान, नैतिकता र इमान्दारितालाई आत्मसात गर्दै सबैसँग राम्रो व्यवहार गर्दा सबै कुरा राम्रो हुन्छ । आफ्नो नैतिकतामा कमी आउादा मान्छेले बाटो बिराउँछ र समस्याबाट भाग्न खोज्छ । गुट–उपगुट पहिला पनि थियो । तर मैले कसैलाई पनि आभाष हुन दिइन् ।

मधेशबाट काँग्रेसले अहिलेसम्म नेतृत्व पाउन सकेको अवस्था छैन । १४औँ महाधिवेशनबाट मधेशले काँगेसको नेतृत्व गर्ने अवस्था बन्छ ?
– कांग्रेस र मधेशको अन्योन्याश्रित सम्बन्ध छ । मधेशबाट नेतृत्व गर्ने नेताले पूरै देशको मन जित्न सक्यो भने त्यो मधेशले काँग्रेसको नेतृत्व गर्न सक्छ । मधेशको मात्रै मन जितेर काँग्रेसले मात्र नेतृत्व लिन सक्दैन ।

म पनि मधेशकै छु नि । नेतृत्वमा छैन, तर पार्टीको पदाधिकारी त छु नि । अनि त्यस्तै आगामी महाधिवेशनमा नेतृत्व पनि आउन सक्छ । किन न आउने ? बीपी कोइरालाले मधेशलाई आदर गर्ने । आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिला सबैलाई समान प्रतिनिधित्व गराउनुभएको थियो । बीपीको मन्त्रिमण्डलमा छ वटा मन्त्रीमात्रै थिए । त्यसमा एउटा महिला, एउटा मधेशी, एउटा जनजाति, एउटा बाहुन र एउटा दलित सबै जनालाई मिलाएर मन्त्री बनाउनुभएको थियो । त्यस्तो गर्दा एकदमै राम्रो हुन्छ ।

मधेशमा काँग्रेसका कार्यकर्ता पलायन भइरहेको अवस्था छ । यसको मुल समस्या के हो जस्तो लाग्छ ?
– मधेशबाट कार्यकर्ता पलायन भएका छैनन् । हाम्रो कार्यकर्ता मधेशमा यथावत छन् । पार्टीमा दुई–चार वटा यता उति जान्छ । मधेश काँग्रेसको हो, काँग्रेस मधेशको हो । मैले बुझेअनुसार मधेशमा काँग्रेस बलियो छ । हाम्रो भित्रको अन्तरद्वन्द्वले २०७४ सालको चुनावमा राम्रो परिणाम आउन सकेन । तर पनि मधेशबाट मधेशले नै नेकपालाई दुई तिहाइ पुग्नबाट रोकेको छ । मधेशबाटै प्रतिनिधित्व गर्ने साथीहरु धेरै छन् ।

मधेश काँग्रेसको मुटु हो । मुटु बिना मान्छे बाँच्न सक्दैन । त्यसैले काँग्रेसबिना मधेश पनि बाँच्न सक्दैन । काँग्रेसलाई बचाउनका लागि मधेश नै चाहियो । यो अहिलेको सरकारको रवैयाले देखाइसकेको छ । दुवैबीच अन्योन्याश्रित सम्बन्ध छ ।

१४औँ महाधिवेशनबाट काँग्रेसमा कस्तो नीति र नेतृत्व आउनुपर्छ भन्ने अपेक्षा राख्नुभएको छ ?
– काँग्रेसको नीति महासमितिबाट पारित भइसकेको छ । त्यो नीति–कार्यक्रम धेरै राम्रो छ । लोकतन्त्र समावेशिता र समानुपातिकको आधारमा टेकेर बनाएको हो–नीति कार्यक्रम । तर, यो लागू भएन । यो अहिलेको नेतृत्वले लागू गर्न सकेन ।

त्यस्तैले यो नीति–कार्यक्रम लागू गर्न इमान्दारिताका साथ लोकतान्त्रि तरिकाले पार्टी चलाउने, नीति नियमले पार्टी चलाउने नेतृत्व आउनुपर्छ । यसको लागि नेतृत्व परिवर्तन अपरिहार्य छ ।

मधेशवादी दलको नेतृत्वमा रहेको प्रदेश २ को सरकार र नेकपा नेतृत्वमा रहेको संघीय सरकारलाई तपाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अतिनै गरिसक्यो । भ्रष्टाचारमा लिप्त छ । मधेशमा पनि लथालिङ्ग नै छ । त्यसो त केन्द्र, प्रदेश र स्थानीय तह सबै भ्रष्टाचारमा लिप्त छ । यसकारणले अब काँग्रेसप्रति आकर्षण बढेको छ जनतामा । कोरोना महामारीको बेला पनि तीनै तह कोरोनाको नामबाट करौडौं रुपैयाँ भ्रष्टाचार गर्नमा व्यस्त छ ।

काँग्रेसमा महिलाको प्रतिनिधित्व अपेक्षाकृत कम रहेको गुनासो छ ? महिलाले नेतृत्व गर्ने पालो कहिले आउँछ ?
– काँग्रेसको महासमितिले बनाएको विधान १४ औँ महाधिवेशनबाट पारित हुन्छ । यसमा काँग्रेसको केन्द्रीय नेतृत्वमा महिलाको सभागिता ४४ जना अर्थात एक तिहाइ छ । काँग्रेस विधानमा महिलाको सहभागिता एक तिहाइ उल्लेख गरिएको छ । काँग्रेसले ४ जना मधेशी महिला, ६ जना दलित महिला, ७ जना आलिदवासी जनजाति महिला, ६ जना महिला खसआर्यबाट र २ जना थारु महिलालाई सहभागि गराउने विधानमा उल्लेख छ ।

काँग्रेस नै एउटा पार्टी जो संविधानको मर्मको हिसाबले जुन महिलाले पाएको आरक्षणको आधारलाई मानेर यो विधान संशोधन गरेका छ । जुन १४औँ महाधिवेशनबाट लागू हुन्छ । अहिले चुनाव हुँदा एक तिहाइ महिला नेतृत्वमा आउनु नै पर्ने हुन्छ ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्