छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु



विराटनगर : विराटनगरमा एक कोरोना संक्रमित पुरुषकी आमाको शंकास्पद मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । तर, उनको मृत्यु भइसक्दा पनि अहिलेसम्म मृतक वृद्धाको रिपोर्ट आइसकेको छैन । मृतक वृद्धामा ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको थियो ।

मृतक वृद्धाको ५६ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भनाए गरिएको छ ।

वृद्धाका छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । ती अधिकृत चालक र कार्यालयका अरु दुई जना अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि पहाडी जिल्ला ओखलढुंगा र सोलुखुम्बु गएका थिए । कार्यालयको काम सकेर साउन २० गते विराटनगर फर्किएका चार जनामध्ये उनीसहित तीन जनालाई पहाडमै हुँदा ज्वरो आएको थियो । त्यसपछि कोरोनाको आशंकामा विराटनगर आएर ज्वरो आउनेहरुले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । रिपोर्ट भोलिपल्ट मंगलबार पोजेटिभ आएपछि उपचारका लागि ती अधिृकतलाई भने आइसोलेनसमा भर्ना गरियो ।

आइसोलेसनमा भर्ना गरेर ती अधिकृतको परिवारलाई पनि ‘कन्ट्याकक्ट ट्रेसिङ’गर्दै परीक्षणको दायरामा ल्याइएको थियो । बुधबार उनकी वृद्धा आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक नाता सम्बन्धका ६ जनाकै रिपोर्ट चार दिनसम्म पनि प्राप्त भइनसकेको छैन । परीक्षणका लागि दिएकामध्ये वृद्धासहित केहीमा ज्वरो आउने लगायत कोरोनाको लक्षण देखिएको थियो ।

ढिलो रिपोर्ट प्राप्त हुँदा मृतक वृद्धाको शव व्यवस्थापन अन्योलमा परेको छ । वृद्धाको कोरोना रिपोर्ट पोजेटिभ आए सेनाले शव व्यवस्थावन गर्ने छन् भने नेगेटिभ आए परिवारलाई अन्त्येष्टिका लागि दिइने महानगरको भनाइ छ ।

प्रकाशित : साउन ३२, २०७७

प्रतिक्रिया दिनुहोस्