सरकारप्रति पार्टीमा चिन्ता हुनु स्वाभाविक हो : कल्याणी खड्का



कल्याणी खडका प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति हुनुहुन्छ । रौतहटबाट प्रतिनिधित्व गर्नुहुने खडका जुझारु महिलाको रुपमा परिचित हुनुहुन्छ । लामो समयसम्म नेकपा एमालेको महिला संगठनमा काम गर्नुभएका उहाँ पार्टीभित्र आफ्ना कुरा स्पष्टसँग राख्ने नेतृ हुनुहुन्छ । नेकपामा देखिएको आन्तरिक विवाद, वर्तमान समसामयिक राजनीतिक र सरकारका कामकारबाहीका विषयमा द नेपालटपकी समाचारदाता आशा साहले खडकासँग गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

लामो समयदेखि नेकपामा आन्तरिक विवाद चलिरहेको छ, यहि विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । के यो कार्यदलले विवाद मिलाउन सक्ला ?
– विवाद समाधान गर्नेभन्दा नि कार्यदलले सुझाव दिन्छ । धेरै लामो समयदेखि समय राम्रो पनि थिएन । अहिले कार्यदल गठन भयो, त्यो राम्रो भयो । कार्यदलको सुझावपछि सचिवालय वा स्थायी कमिटी बैठक बसेर आधिकारिक निर्णय गर्छ ।

सचिवालय, स्थायी कमिटी वा केन्द्रीय समिति जस्ता आधिकारिक निकायबाट कार्यदल गठन भएन भनेर कार्यदलको वैधानिकतामाथि पनि प्रश्न उठेको छ नि ?
– संस्थागत निर्णय गरेर गठन गरेको भए राम्रो हुन्थ्यो । यद्यपि गठन भइहाल्यो, ठीकै छ । अब यो कार्यदलले दिएका सुझावहरु संस्थागत रुपले पार्टीले गर्छ । सोमबारका लागि सचिवालयको बैठक बोलाइसकेको छ । यसकारण अब कार्यदल वैधानिक भयो कि भएन भन्ने भन्दा पनि यसले दिएका सुझावहरु संस्थागत रुपमा निर्णय गर्नुपर्छ ।

तीन नेता पक्षधर दुई–दुई सदस्य राखेर विवाद मिलाउने प्रयास गरिनुले भागवण्डामै नेकपाको टकराव अवतरण हुने संकेत गरेको छ ?
– यो भागवण्डा भन्ने कुराको धेरै हल्ला भइरहेको छ । त्यस्तो होइन । पार्टी भनेको सिस्टमले चल्नुपर्छ, विधिले चल्नुपर्छ, पद्धतिले चल्नुपर्छ । विधि र विधानभन्दा माथि कोही हुँदैनन् । संस्था चल्नुको निम्ति व्यक्ति प्रमुख हैन विधि प्रमुख हुनुपर्छ । त्यसकारण सिस्टम र विधि पद्धतिको एक प्रकारणको संघर्ष हो, अन्तरविरोध हो । पद र प्रतिष्ठाको कुराभन्दा पनि पार्टी सिस्टममा चल्ने र पार्टीकै जनता सामु जुन प्रतिवद्धता गरेको थियो त्यही अनुसार सरकार सञ्चालन हुनुपर्छ । त्यही भएर व्यक्ति प्रमुख कि विधि प्रमुख भन्ने कुरा मात्रै मुल विषय हो ।

सरकारले गरेका कामहरु राम्रो पनि छन् र केही यस्ता काम पनि छन् जसले सरकारलाई विवादित बनाइरहेको छ । त्यही हिसाबले पार्टी चुप लागेर बस्ने कुरा भएन नि । सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिएको छ । यसका लागि सिस्टम, विधि, पद्धति चाहियो ।

महाधिवेशनको कार्यतालिका, नेताहरुको जिम्मेवारी बाँडफाँट, मन्त्री र मुख्यमन्त्रीहरु फेरबदल लगायतका विषयमा पनि अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यादेश कार्यदललाई छ । तर ओली, दाहाल र नेपालबाट शक्तिशाली नेताहरुलाई राखिएकोले आआफ्नै अडान रहने सम्भावना देखिन्छ नि ?
– यो जीवन्त पार्टीमा आ–आफ्नो विचार, धारणा हुन्छन् । पार्टीलाई समृद्ध बनाउने, देशलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने कुरामा कहाँ कमजोरी रह्यो, कहाँ सुधार गर्नुपर्ने हो यसका बारेमा बहस विवाद छलफल भएन भने त अगाडि बढ्नै सकिदैन । त्यसकारण आ–आफ्नो अडानमा रहेको जस्तो देखिने भन्दा पनि परिणाम निस्कने कुरामा आशावादी हुनुपर्छ । पार्टीमा जुन प्रकारको लामो विवाद भयो यो अब टुंगिनु नै पर्छ । यो विवाद अब पनि टुंगिएन भने जनताले नेकपा सरकारप्रति जुन आशा गरेको छ त्यो पूरा हुन सक्दैन । शीर्ष नेतृत्वहरुले मैले नै सबै कुरा पूरा गर्छु, म नि सर्वे सर्वा भन्ने कुरा कम्युनिष्ट पार्टीमा त्यस्तो हुँदैन । संस्थागत निर्णय हुन्छ । संस्थागत रुपमा निर्णय गर्नुपर्छ । संस्थागत निर्णय भएपछि जिम्मेवारीबोध हुन्छ ।

देश कोरोना महामारीमा छ, दुवै अध्यक्ष आ–आफ्नो अडानमा कायमै हुनुहुन्छ, यस्तो अवस्थामा कार्यदलले कसरी विवाद समाधान गर्नसक्छ ?
– कोरोनाको कहरमा देश छ । कोरोनाको कहरलाई व्यवस्थापन गर्नका लागि पनि यो पार्टीले एकढिक्का भएर जानुपर्छ र सिस्टममा आउनुपर्छ जो सुकै होस् । चाहे अध्यक्ष, चाहे उपाध्यक्ष, चाहे महासचिव जसले पनि सिस्टमअनुसार काम गर्नुपर्छ । सिस्टममा आएपछि कमीकमजोरीहरु समाधान हुन्छ । त्यसकारण कोरोना महामारीमा सबै कमीकमजोरी छाडेर बस्ने कुरा पनि हुँदैन । सरकारलाई जुन प्रकारको चुनौती छ त्यो चुनौती सामना गर्नको निम्ति लाग्नुपर्छ ।

शक्ति संघर्षलाई सबैभन्दा नजिकबाट सघाउनेहरु नै कार्यदलमा राखिनुको कारण के ?
– नजिक र टाढाको कुरा हैन । सबै जनालाई चिन्ता छ । जनताले कम्युनिष्ट पार्टीसँग जुन आशा, विश्वास र भरोसा गरे, राज्य सञ्चालन गर्ने जिम्मेवारी दिए त्यसको पछाडि थुप्रै नेता तथा कार्यकर्ता हुनुहुन्छ । त्यसैले कार्यदलमा को रहने को नहरने, को नजिक छ को टाढा छ भन्ने कुरा हैन । यो नेतृत्व र प्रतिनिधिमुलक हिसाबले भएको हो । नत्र त ठूलो संख्यामा गयो भने फेरि समस्या हुन्छ र समाधान खोज्न अप्ठ्यारो हुन्छ । हामी अहिले पनि के भनिरहेका छौ भने शीर्ष नेताहरुलाई केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । समस्या समाधान गर्न सक्नुहुन्न भने केन्द्रीय कमिटीको बैठक बसौं । तर यो कार्यदल नै ठूलो बनाएर केही फाइदा छैन । छिटो निकास निकाल्न एउटा कार्यदल गठन भयो । अब कार्यदलले समस्या समाधानका लागि आवश्यकताअनुसार सल्लाह दिन्छ ।

दुई तिहाईको बहुमत प्राप्त दलमा यस्तो पदीय विवादले जनतामा नराम्रो सन्देश प्रवाह भएको छ नि हैन ?
– सरकार जुन प्रकारले विवादित स्थितिमा बाहिर देखा परिरहेको छ यसको चिन्ता छ पार्टीलाई । नेपाल कम्युनिष्ट पार्टीको सरकारले जसरी समृद्धितर्फ सबै प्रकारको चुनौतीलाई सामना गरेर अगाडि बढ्नुपथ्र्यो त्यसमा भइरहेको कमीकमजोरीलाई सच्याउनको लागि यो चिन्ता हो । त्यसको लागि बहस हो, त्यसको लागि छलफल हो, विवादको निकास निकाल्नको लागि खोजिएको हो । त्यसैले त्यसलाई अन्यथा सोच्नु हुँदैन ।

कहिले निस्कन्छ निकास ?
– कुनै कुराको निकास चाँडो निस्कनुपर्छ । विवादलाई छिटो टुंगो लगाउनु पर्थ्यो हुन सकिरहेको छैन । वास्तवमा त्यो हुनुमा कमजोरी छ । तर पनि निकास निस्केन भनेर चुप लागेर बस्ने कुरा त हुँदैन । विवाद समाधानको लागि निकास निकाल्नै पर्छ । त्यसैले अब चाँडै विवाद समाधान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्