भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त



काठमाडौं : नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जंगी अड्डाले गठन गरेको समरी जनरल सैनिक अदालतले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो ।

उपरथी सीताराम खड्काको अध्यक्षतामा उक्त अदालत गठन गरिएको थियो । अदालतले राणाले १ करोड ५२ लाख २७ हजार ३ सय रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७८ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उक्त रकम राणा र सिलवालबाट असुल गर्न भनिएको छ ।

उनीहरूले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर अदालतले गरेको छ । सोही प्रकरणमा सैनिक अदालतले प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सहसेनानी लक्ष्मीकान्त खनाल, सुबेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला सुनाइएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिन भनिएको छ । महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन् ।

जंगी अड्डाले विभिन्न सैनिक अड्डाभित्र भइरहेका आर्थिक अनियमितता छानबिन गर्न गठन गरेको निगरानी संयन्त्र (ओभर साइट सेल)को गोप्य प्रतिवेदनका आधारमा राणा र सिलवाल अनुसन्धानमा तानिएका थिए । गोप्य भनिएको उक्त प्रतिवेदनले औंल्याएका अन्य सैनिक उच्च अधिकारीबारे छानबिन भइरहेको सैनिक उच्च स्रोतले जनाएको छ । भ्रष्टाचार छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा संयन्त्र गठन गरिएको थियो । प्रधानसेनापति कमान्ड मार्ग निर्देशन २०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न संयन्त्र गठन भएको थियो ।

संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजन भएका दुई दर्जनभन्दा बढी अड्डामाथि छानबिन गरेको थियो । संयन्त्रले ती निकायमा आकस्मिक भ्रमण गरी विनियोजित रकम के कसरी खर्च भइरहेको छ भन्नेबारे अध्ययन र छानबिन गरेको थियो ।

उसले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै प्रधानसेनापति थापाले अनियमिततामा संलग्न सैनिक अधिकारीलाई कारबाही थालेका हुन् । उपरथीको नेतृत्वमा गठित संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापतिलाई दिएको थियो । जंगी अड्डाले सैनिक उच्च अधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो ।अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

प्रकाशित : भदौ १, २०७७

प्रतिक्रिया दिनुहोस्