पर्सामा एकै दिन थपिए १३४ जना कोरोना संक्रमित



नरेश सर्राफ/पर्सा : पर्सामा चिकित्सक, पत्रकार र प्रहरीसहित एकैदिन १३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार, प्रहरी, चिकित्सकसहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका कोभिड इन्चार्ज डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालीकादेखि ८० वर्षकी वृद्ध महिला रहेका छन् । उनका अनुसार २ ठाँउको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जनामा संक्रमणको पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् । सान्भी एफ.एमका ३१ वर्षका १ जना प्रबन्धक निर्देशक, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयमा कार्यरत ७ जना प्रहरीमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।

वीरगन्ज ४ विर्ताका एकजना ३२ बर्षका चिकित्सक, नारायणी अस्पतालको आईसियुमा उपचार्थ २२ बर्षका १ जना र जेनरलमा उपचार्थ ३० र ४५ बर्षका गरी ३ जनामा समेत कोरोना संक्रमित भेटिएको डाक्टर सिंहले बताए ।

त्यसैगरी महानगरपालिका विभिन्न वडाका १८ जना रहेकामा र पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७ , ८ र ९ को गरी २५ जनामा कोरोना संक्रमण भेटिएको छ ।

बारा जिल्लाका विभिन्न ठाँउका ११ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए । साउन ३० गतेदेखि भदौ १ गतेसम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६६ जना संक्रमण पुष्टि भएको हो ।

गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा परिक्षणको लागि पठाईएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति काभ्रे प्रयोगशालाले पठाएको संक्रमितको विवरण अनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै पर्सामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४४ जना पुगेको छ । साउनयता मात्र एक हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी गराए । त्यसैगरी संक्रमणको कारण ज्यान गुमाएको संख्या २१ पुगेको छ ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्