पोखरामा दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु



पोखरा : गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना संक्रमितको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार राति ११ बजेर ३५ मिनेटमा आइसियुमा उपचाररत तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको मृत्यु भएको हो । उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको थियो । संक्रमित महिलामा हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या रहेको अस्पतालका निर्देशक डा पदमबहादुर खड्काले जनाकारी दिए ।

उनको सोमबार स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशकी जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले बताए ।

त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कास्की जिल्ला पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको छ । गत साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए उनी हाइपरटेन्सन, सुगर र दीर्घ मिर्गौला रोगी थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

यी दुईसहित गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालभरमा भने १ सय १३ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्