कैलालीको बाढीमा बगेर ज्यान गुमाएका परिवारलाई राहत वितरण



भजनीः कैलालीको भजनी नगरपालिकामा बाढीमा बगेर ज्यान गुमाएका ३ जना मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ ।

संघीय सरकारले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही २–२ लाख राहत रकम उपलब्ध गराएको हो ।

गत १४ साउनमा आएको बाढीमा परी ज्यान गुमाएका भजनी ८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उनले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरे । भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन् ।

ती मध्ये केही घर फर्किए पनि अझै सयौँ घर परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् ।

प्रकाशितः २ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्