धनगढी पुनः लकडाउनको तयारीमा



धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो । धनगढी उप-महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नका लागि छलफल भईरहेको बताए ।

‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएको थियो,’ प्रवक्ता मुडभरीले भने, ‘अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी लगायतमा कोरोना संक्रमण देखिएको छ । यस्ले समुदायस्तरमै कोरोना फैलिने खतरा रहेकाले नियन्त्रणका लागि लकडाउन गर्ने तयारी भएको छ ।’

सोमवार पनि उप-महानगरपालिकामा छलफल भएको बताउँदै उनले १०, १५ दिनका लागि लकडाउन गर्ने विषयमा धेरैको सहमती जुटेको बताए । ‘लकडाउन खुलेसंगै बजार क्षेत्रमा भीड बढेको छ,’ उनले भने, ‘सबैभन्दा बढि भीड हुने स्वास्थ्य क्षेत्रमै न्यूनतम मापदण्ड पूरा भएको छैन । यस्ले झनै जोखिम बढाएको छ ।’

भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको प्रवक्ता मुडभरीले बताए । समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नं.३ को कार्यालय १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ ।

वडाध्यक्ष बलवहादुर ऐरले नजिकै आईरहेका चाडपर्वमा समेत भीडभाड बढ्ने देखिएकोले कोरोना भाईरस नियन्त्रणका लागि कडाइ गरिएको बताए । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप-महानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको जानकारी दिए । संक्रमित मध्ये ११ जनाको आन्तरिक ट्राभल हिस्ट्री रहेको छ ।

प्रकाशितः भदौ १, २०७७

प्रतिक्रिया दिनुहोस्