१० दिनमै सोल्ड आउट टेल्जी स्कुटर, थप २ कन्टेनर ल्याइँदै



काठमाडौंः १० दिन अगाडि सार्वजनिक भएको टेल्जीको इलेक्ट्रिक स्कुटर ‘सोल्ड आउट’ भएको छ ।

यो अवधिमा टेल्जीका ३० ओटा लायन र ४२ ओटा टाइगर मोडलका विक्री भएको टेल्जीको नेपालका लागि आधिकारिक वितरक यम मा ई मोटर्स प्रालीका निर्देशक सन्जिव शिल्पकारले जानकारी दिए ।

सार्वजनिक भएसँगै यसको इन्क्वायरी, बुकिङ र सेल्स उच्च रहेको उनले बताएका छन् । उनले भने,‘हाम्रा दुवै स्कुटरमा ग्राहकको चाख उच्च पायौं। ब्राण्ड लन्च भएको १० दिन भित्रै ७२ ओटा स्कुटर बिक्नु भनेको निकै राम्रो हो । कतीलाई त पुर्याउन पनि सकिएन ।’ अब १ महिनामा ३ मोडलका २ कन्टेनर स्कुटर आइपुग्ने उनले जानकारी दिए ।

‘हामीले अर्डर गरे अनुसार यतीखेरसम्म आइसक्नु पर्ने थियो । तर तातोपानी नाका बन्द भएको कारणले त्याहाँबाट फर्काएर बिरगञ्जको नाका हुँदै ल्याउन लागेका छौं १ महिना भित्र आइपुग्छ,’ उनले भने ।

टेल्जीको लायन स्कुटरमा २ हजार ५ सय वाट मोटर र ६० भोल्ट, ३२ एम्पिएरको व्याट्री प्रयोग गरिएको छ । यसले फुल चार्जमा २ युनिटभन्दा कम बिजुली खपत गर्ने र ८५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यसमा डिस्क ब्रेक, एलइडी प्रोजेक्टर हेडलाइट, कि लेस स्टार्ट, ट्युब लेस टायर , आरामादायी सिट, ६ इन्चको एलसिडी स्क्रिन, सेन्सर टेक्नोलोजी, थिफ्ट अर्लाम एक्टिभिसन सिस्टम लगायत विशेषता रहेका छन् । कम्पनीले यसको मूल्य १ लाख ८३ हजार निर्धारण गरेको छ ।

त्यस्तै टेल्जीको टाइगर स्कुटरमा २ हजार ५ सय वाटको मोटर छ र ७२ भोल्ट ३२ एम्पिएरको ब्याट्री जडान गरिएको छ । यसलाई फुल चार्ज गर्दा २ युनिट भन्दा कम बिजुली खपत गर्छ भने फुल चार्जमा ९५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यसका फिचर्सहरु लायनको जस्तै छन् । कम्पनीले यसको मूल्य १ लाख ८३ हजार छ । कम्पनीले स्कुटरको ब्याट्री, मोटर र कन्ट्रोलरमा २ वर्षको वारेन्टी दिने शिल्पकारले जानकारी दिए ।

प्रकाशितः २ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्