‘निषेधाज्ञा’पछिको काठमाडौं



काठमाडौं : उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले एक साता निषेधाज्ञा गरेपछि काठमाडौं उपत्यका सुनसान छ । बिहीबार मध्याह्न १२ बजेदेखि निषेधाज्ञा गरेपछि काठमाडौंमा अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन् ।

अतिआवश्यक सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सूचना तथा सञ्चारमाध्यले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालन भएका छैनन् ।

Image may contain: sky and outdoor

‘निषेधाज्ञा’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।

पछिल्लो समय काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मंगलबार अपराह्न बसेको काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले तीनै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

Image may contain: tree, sky and outdoor

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) मा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा वा जनस्वास्थ्यमा असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न निश्चित समयका लागि निषेधाज्ञा जारी गर्न पाउने व्यवस्था छ । दफा ६ (३) मा भनिएको छ, ‘कसैले कुनै काम गर्न लाग्दा वा कहीं केही वस्तु रहँदा वा कसैले राख्दा हूलदंगा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले तोकिएकाबाहेकका कुनै पनि कामरगतिविधि गर्न निषेध आदेश दिन सक्नेछ, त्यस्तो आदेश एकपटकमा दुई महिनाभन्दा बढी अवधिको हुने छैन ।’ आदेश उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

Image may contain: sky and outdoor, text that says 'omen's Planet Boutique'

संक्रामक रोग ऐन, २०२० को दफा २ मा मानिसमा कुनै पनि संक्रामक रोग उब्जे वा फैलिए वा फैलिने सम्भावना देखिए नेपाल सरकारले सो रोग निर्मूल वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने उल्लेख छ । त्यस्तो अवस्थामा सर्वसाधारण वा कुनै पनि व्यक्तिहरूको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । यस्तो आदेश उल्लंघन गरे १ महिना कैद वा १ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने उल्लेख छ ।

Image may contain: outdoor

प्रकाशित : भदौ ४, २०७७

प्रतिक्रिया दिनुहोस्