प्रचण्डले भने- ‘नेकपा हप्ता, दस दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्छ’



काठमाडौं : सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन्। महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए।

अन्नपूर्ण मिडिया ग्रुपको एपीवान एचडी टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा भूषण दाहालसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी समिति एजेन्डामा साझा सहमति हुने बताएका हुन्। उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दलसमेतको साथमा संवैधानिक नियुक्तिलगायत विषय पनि प्याकेजमा टुंग्याइने छन्।

‘दुइटा अध्यक्षबीच पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै सहमत छौं। त्यसकारण अब एक एक व्यक्तिका निम्ति झगडा भएर बस्दैन भन्ने मेरो विश्वास छ’, उनले भने। नेकपामा पौडेल नेतृत्वको कार्यदलले सुझाव प्रस्ताव ल्याएपछि स्थायी समितिबाट पारित गर्ने र केन्द्रीय समिति हुँदै महाधिवेशनमा जाने तयारी छ। ‘स्थायी समितिबाट प्रस्ताव पारित गर्ने र केन्द्रीय समितिबाट महाधिवेशनमा जाने भनेपछि अब पदको कुरा छैन। यो विषय हामो मुख्य हिजो पनि थिएन। मान्छेले बुझ्दा यो हाम्रो बहस पदकै लागि भएको हो कि भन्ने नेगेटिभ (नकारात्मक) अलि बढी गयो। यथार्थ त्यस्तो होइन’, दाहालले भने, ‘पार्टी एकताको कुरा गर्दा होस् या गठबन्धन गरेर चुनावमा जाँदा हामी पदको बार्गेनिड गरेर गएका थिएनौं, पदको बार्गेनिड गरेर गएका हुन्थ्यौं भने पार्टी एकता नै हुँदैनथ्यो।’

नेकपाका दुई अध्यक्ष केपी ओली र दाहालले गत शुक्रबार महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए। यो कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री ओलीले गत साता ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिने बताएका थिए। दाहालले पनि तत्काल नयाँ परिस्थिति निर्माण हुने बताए।

‘प्रधानमन्त्रीले ५ दिन नै भन्नुभएछ भनेर पछि उहाँ (प्रधानमन्त्री) सँग कुरा भयो। त्यो कसरी भन्नुभयो ? भन्दा एउटा आत्मविश्वास व्यक्त गरेको भन्नुभयो,’ दाहालले भने, ‘हामीले कार्यदल बनाएका छौं। कार्यदलले काम गरिरहेको छ। मलाई लाग्छ, हप्ता, दस दिनभित्र नयाँ निष्कर्षसहित अगाडि जाने वातावरण बन्छ भन्ने लाग्छ।’

नेकपाभित्र चर्को विवादमा रहेको अमेरिकी सहयोग नियोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का विषयमा पनि समझदारी निर्माण हुने दाहालले संकेत गरे। ‘एमसीसीमा पनि समझदारी बन्ने दिशातिर अगाडि बढ्यो भनेर बुझ्दा हुन्छ,’ दाहालले भने, ‘सम्भव हुने जति संशोधन गरेर अगाडि बढाउन उचित हुन्छ भन्ने मत प्रभावी छ।’

दाहालले पार्टी एकता गरेर आफू निरीह नबनेको कताए। ‘प्रचण्डले आफ्ना लागि, देशका लागि, जनताका लागि जटिल परिस्थितिमा पनि ठाउँ बनाउँदै आएको छ। जसरी प्रचण्ड निरीह भएको हो कि भन्ने देखिन्छ। नातागोतादेखि पार्टीका समर्थक शुभचिन्तकदेखि बुद्धिजीवीले पनि त्यो भनेको सुन्ने गरेको छु। तर मेरो सोच्ने तरिका अलिक फरक रहेछ। यसरी हेर्दा म निरास छैन।’

दाहालले १० वर्षे युद्धको नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताका परिवर्तनका एजेन्डा स्थापित गर्न, शान्तिको त्यो वातावरण बनाउन, रूपान्तरण र परिवर्तनको वातावरण बनाउन खेलेको भूमिकामा कुनै हीनताबोध नभएको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्