‘अहिलेको परराष्ट्र सम्बन्ध सुझबुझरहित हचुवापूर्ण छ’–डा. महत



नुवाकोट कविलासका डा. प्रकाशशरण महत संविधानसभामा समानुपातिकतर्फ नेपाली काँग्रेसका पूर्वसभासद हुन् । डा. महतले नेविसंघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य र परराष्ट्रमन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन् । राजनीतिक यात्रा २०३६ सालमा शुरु गरेका उनी पटक–पटक पक्राउ परेका छन् । उनले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । काँग्रेस महाधिवेशनको तयारी, विभाग गठनमा देखिएका विवाद, सरकारको कार्यशैली र सरकारको वैदेशिक नीति र छिमेकी मुलुकसँग सम्बन्ध लगायत विभिन्न समसामयिक विषयमा द नेपालटपकी समाचारदाता आशा साहले काँग्रेसका सहमहामन्त्री डा. महतसँग गरेका कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

नेपाली काँग्रेस महाधिवेशनको संघारमा छ, यो कोरोना महामारीमा महाधिवेशन सम्भव छ त?
– चुनौती धेरै छ । कोरोना संक्रमणको बाबजूद फागुनमै महाधिवेशन गर्ने अठोट नेतृत्वले लिएको छ । तर, पछिल्लो समय सरकार कोरोना संक्रमणप्रति अत्यन्त गैरजिम्मेवार तरिकाबाट प्रस्तुत भयो । महामारी सहजै नियन्त्रण हुन्थ्यो तर त्यसलाई नियन्त्रणभन्दा बाहिर जाने अवस्था पुग्यो र अहिले फेरी निषेधाज्ञाको स्थिति आयो । यसले महाधिवेशन गराउन चुनौती थपिएको छ । यथासम्भव महाधिवेशन तोकिएकै मितिमा गर्ने हो । तर, महामारी नियन्त्रणभन्दा बाहिर गयो भने भन्न सकिँदैन ।

महाधिवेशनको तयारी कस्तो हुँदैछ ?
–अहिले जटिल काम भनेको सक्रिय सदस्यताको नामावली टुंग्याउनु हो । हाम्रो मतदाता भनेकै सक्रिय सदस्य हो । सक्रिय सदस्यको सूची सार्वजनिक भएपछि निर्वाचन कुन समयमा कसरी गर्ने भन्ने टुंगो लगाउन सजिलो हुन्छ । अहिले सक्रिय सदस्य वडाले वितरण गर्छ । जिल्लाहरुको वडामा सक्रिय सदस्यता पुग्दैछ । कति ठाउँमा दिने काम पनि अगाडि बढेको छ । त्यसकारण स्थानीय परिस्थितिमै निर्भर पर्छ यो कति समयमा सम्पन्न हुन्छ भनेर ।

तपाईको उम्मेदवारी कुन पदमा हुँदैछ ?
– अहिले हतार गर्नु किन पर्यो । म सहमहामन्त्री छँदैछु । अब जाने भनेको योभन्दा माथिको पदमै हो । अब कसरी जाने, कुनमा जाने भन्ने कुरामा समय छ, त्यसैले हतारमा घोषणा गरेर हुने केही होइन । नचिनेका नेता र कार्यकर्ता कोही छैन पार्टीभित्र । त्यसकारण लामो समयदेखि प्रचार गर्दै हिँड्नुपर्छ जस्तो लाग्दैन । सहमहामन्त्री भइसके, यसैमा बस्ने कुरा भएन । त्यो भन्दामाथि महामन्त्री, सभापति, उपसभापति छ । त्यसमध्ये एउटामा लड्छु ।

पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न विभाग गठन गरिरहेका छन् ? त्यसको एक समूहबाट व्यापक विरोध भइरहेको छ नि ?
–वास्तवमा पार्टीका साथीहरु उत्साहका साथ विभागमा बसिरहनुभएको छ । अझै धेरै साथीले हामीले पनि अवसर पाउनुपर्छ भन्ने पर्खाइमा हुनुहुन्छ । यद्यपि यो विभाग धेरै अगाडि बढिसक्नुपर्थ्यो । पार्टी सभापतिले म सबैको सहमति जुटाएर मात्र बनाउछु भन्नुभएको थियो । विधानमा उहाँले आफैले गर्न पाउनुपर्ने व्यवस्था थियो । कसैलाई सोध्नुपर्ने आवश्यता पनि थिएन । तर, उहाँले सबै नेताको सुझाव, सल्लाह र सहभागितामा बनाउँछु भनेर धेरै लामो समय कुर्नुभयो । कुर्दा–कुर्दा नभएपछि अहिले बनाउने क्रम अगाडि बढेको हो । तर, उहाँले अहिले सबैलाई नाम दिनुस्, सहयोग गर्नुस् भनिरहनुभएको छ ।

त्यसो भए विरोध चाहि किन भएको हो ?
– अहिले अधिवेशन लागेर होला । त्यस्तो विरोध गर्नुपर्ने त केही छैन । समयमा हुनुपर्छ, तर समयमा हुनको लागि सबै नेताले समयमा नै सहयोग गर्नुपर्थ्यो । अब ढिलै भए पनि नहुनुभन्दा हुनु नराम्रो कुरा हैन । पार्टीमा एउटा पदको लागि नेताहरु लडाइँ गर्छन् । हामीले चाहि अवसरनै पाउँदैनौ भन्ने हुन्छ । छोटो समयका लागि भए पनि अवसर पाए हुने भन्ने सोच सबैको हुन्छ ।

काँग्रेसमा धेरैजना नेतृत्वका आकांक्षी देखिएका छन नि? तपाईहरुकै समूहमा अन्य व्यक्ति पनि नेतृत्वका आकांक्षी देखिनुभएको छ ?
– आकांक्षी देखिनु स्वाभाविक हो । वडादेखि नै निर्वाचन हुन्छ केन्द्रीय तहमा । सबैले आफू हिसाबले अरुभन्दा राम्रो गर्छु भन्दै प्रस्तुत हुन्छन् । त्यस प्रस्तुतिको आधारमा कार्यकर्ता पंक्तिहरुले पनि निर्वाचित गर्छन् । त्यसकारण आकांक्षी हुनु त स्वभाविक नै हो ।

तपाईको मुल नारा के हुन्छ महाधिवेशनमा ?
– पार्टीलाई मुलभूत रुपमा उर्जाशील बनाउने नै सबैभन्दा ठूलो लक्ष्य हो । त्यो उर्जा प्रदान गर्न पार्टीको मुल उद्देश्य–हाम्रो लोकतान्त्रिक मूल्य र मान्यता हो । देशमा समृद्धि सिर्जना गर्नुपर्छ र हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्याउनुपर्छ भन्ने हाम्रो लक्ष्य छ । त्यो लक्ष्य प्राप्त गर्न हामीले हिजो गरेको काम र भोलि पनि समय सापेक्ष यो काम गर्छौ भन्ने कुरा नेतृत्वमा आउन चाहनेहरुले आत्मसात गर्नुपर्छ । र सबैभन्दा ठूलो कुरा नेपालमा प्रचार बिक्री भइरहेको छ । अहिले जसरी कम्युनिष्ट पार्टी सत्तामा बसेर कुरा बिकाउन सफल भएका छन् । काम गरेको देखिएन । अहिले यति ठूलो अवसर पाउँदा पनि काम गर्नु त कता हो कता बरु देशलाई अप्ठ्यारो स्थितिमा पुर्याइरहेका छन् ।

काँग्रेसको एउटा कमजोरी के छ भने–हामी चाहि काम गर्छौ, तर त्यसको प्रचार गर्दैनौ । हामीले आफ्ना कुराहरुलाई आफ्नो काम, विचार, सिद्धान्तलाई ठोस ढंगबाट जनताको बीचमा पुर्याउँछौं । होइन भने यहाँ सबै गफ बिक्ने हो, झुठा कुरा बिक्ने हो, झुठा सपनाहरु बिक्ने भए, तर काम नबिक्ने भयो । त्यसैले यो देश झन–झन पछि पर्दैछ ।

दोस्रो कुरा– हाम्रो राष्ट्र एउटा चुनौतीपूर्ण घडीमा छ । दुईटा ठूला देशबीच हामी छौ । यसलाई सबै शक्ति राष्ट्रहरुले हेरिरहेका छन् । हामीले कसरी हाम्रो नीतिमा सन्तुलन ल्याएर राष्ट्र स्वार्थलाई केन्द्रविन्दुमा राखेर कसरी प्रस्तुत हुने भन्ने चुनौती पनि हाम्रो अगाडि छ । वर्तमान सरकारले सन्तुलन कायम गर्न सकेको छैन । राष्ट्रिय स्वार्थ, राष्ट्रिय आवश्यकतालाई केन्द्रविन्दुमा राखेर कुटनीति सञ्चालन गर्न सकेको छैन । यसले हाम्रो देश एउटा गम्भीर संकटमा शक्ति राष्ट्रहरुको खेल मैदानको रुपमा रुपान्तरण हुने सम्भावना छ । यो विषयबारे हाम्रो पार्टी र पार्टी नेतृत्वमा आउन चाहनेले गम्भीर रुपमा उठाउन सक्नुपर्छ ।

अहिले वर्तमान सरकार नेपालको धर्म, संस्कृति, पहिचानप्रति गम्भीर छैन । एउटा सामान्य खेलको विषय बनाइएको छ । यो गम्भीर विषय हो । पहिचानको कुरा, हाम्रो देशमा स्वतन्त्रताको जगमा समृद्धि कसरी सिर्जना गर्ने र हाम्रो सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई कसरी यथातव राख्ने र कसरी मित्रराष्ट्रहरुसँग प्रस्तुत हुने यी अत्यन्तै महत्वपूर्ण विषयहरु हुन् । यी विषयलाई काँग्रेसको नेतृत्वले गम्भीर रुपमा लिनुपर्छ ।

काँग्रेसभित्रको आन्तरिक विवाद चर्किदो छ, कहिले साम्य हुन्छ ?
– विवाद समाधान हुन समय लाग्दैन । महाधिवेशन नजिकिँदै छ । यसकाण अति विवाद देखिएको हो । नेतृत्वमा रहेकाको आलोचना गर्ने कमीकमजोरीहरुलाई बढाइँचढाइँ गर्ने प्रवृति हुन्छ नै । तर, अहिले हाम्रो सबैभन्दा ठूलो विवाद भनेको सत्ताधारी पार्टी हो । जनताको सेवाप्रति केन्द्रित हुनुभन्दा अब कसरी सत्तामा टिक्ने र सत्ता बाहिर रहेका कसरी सत्तामा जाने भन्ने कुरामा मात्र आन्तरिक लडाइँ भइरहेको छ । जनताको पीर, मर्का, भ्रष्टाचार, कुशासनप्रति न त ओलीजीलाई हटाउन चाहनेहरुले उठान गर्नुभएको छ । ओलीजीको त कुरै भएन । उहाँ दुरुपयोग र भ्रष्टाचारको पर्याय हुनुभएको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिको संयोजक पनि हुँ । हामीले देशभरी अन्तर्क्रिया गर्यौ र यसको आधारमा भन्न सक्छु, सहजै नियन्त्रण हुने यो संक्रमणलाई अहिले हातभन्दा बाहिर पुर्याउन यो सरकार जिम्मेवार छ । यो विषयमा हाम्रो पार्टीले एक भएर आवाज उठाउनुपर्छ । पार्टीभित्र एक–अर्कालाई सानो देखाउने खेलमा हामी लाग्नु हुँदैन ।

अन्य दलबाट काँग्रेसमा आएका दल र नेताको समायोजन अझै सकिएको छैन, कहिलेसम्म हुन्छ समायोजन ?
– समायोजन भइरहेको छ । गच्छदारजीको करिब–करिब भइरहेको छ । राप्रपाबाट केही साथि आउनुभएको छ । उहाँहरुको पनि हुँदैछ । समायोजन टुंगिन धेरै समय लाग्दैन ।

वर्तमान सरकारका समग्र कामकारबाहीका बारेमा तपाईको मूल्यांकन के छ ?
– वर्तमान सरकारले प्रचारलाई ठूलो हतियार बनाएको छ । कम्युनिष्टहरु कामभन्दा प्रचारमा विश्वास गर्छन् । गरेर हुन्न गर्या जस्तो गर्नुपर्छ भन्ने प्रोपोगोण्डामा विश्वास गर्नुहुन्छ । राष्ट्रियता, जनअधिकार, रोजगारीका विषयमा सुखी नेपाली समृद्धि नेपाल भनेका छन् । कामकुरा छैन । काँग्रेसले यसरी बोल्दैनन् । काम चाहि काँग्रेसले गर्ने, संविधान हामीले बनायौं, शान्ति हामिले ल्यायौं, २०४६ सालपछि आर्थिक विकास काँग्रेसले गर्यो । तर, के लाग्यो भने–हामीले गरिहालेका छौं, जनता आफैं बुझिहाल्छ नि भनेर हात बाँधेर बस्यौ ।

अब उहाँहरुले चाहि हामीले गरेको काम पनि हामीले गरेको हो भन्दिने । दुई तिहाइले निर्वाचित हुनुभयो । कहिले पानी जहाज, कहिले रेल भन्या छ । सपना बाँडेको बाँडयै । कोभिडको संक्रमणमा पनि भ्रष्टाचार भइरहेको छ, यस्तो बेला भ्रष्टाचार सोच्नु पनि पाप हो, तर सरकारले खुलेआम गरिरहेको छ ।

तपाई त पूर्व परराष्ट्रमन्त्री हुनुहुन्छ, वर्तमान सरकारको वैदेशिक नीति र छिमेकी मुलुकसँग सम्बन्धलाई कसरी नियाल्नुभएको छ ?
–सरकार हचुवाको भरमा चलिरहेको छ । कुनै पनि देशको विदेश नीति लहरमा चलाउनु हुँदैन । त्यो गम्भीर त्रुटि हुन्छ । यूरोपमा स्विट्जरल्याण्ड भन्ने देश छ । त्यहाँको प्रति व्यक्ति आय यूरोपमै सबैभन्दा धेरै छ । इटाली, जर्मनी र फ्रान्सको बीचमा रहेको स्विट्जरल्याण्डलाई कसैले केही गर्न सकेन । चीन र भारतको उदीयमान र आर्थिक रुपमा पनि शक्तिशाली राष्ट्र । यी दुई देशका बीचमा हामी छौं । हामीले विदेश सम्बन्धमा धेरै खेल खेल्नु हुँदैन । हामीले नेपालको आवश्यकता र मुलभूत स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढनुपर्छ । भारत र चीन दुवैसँग भन्नुपर्छ । एउटा देशको विरुद्ध अर्को देशसँग खेल खेल्नु हुँदैन ।

हामी सत्तामा हुँदा चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ । हाम्रो पार्टीको विचारधारा बेग्लै छ भनेर चीनसँग नराम्रो सम्बन्ध कहिल्यै राखेनौ । यो देशसँगको सम्बन्ध पार्टीसँगको होइन । त्यसैले हामीले नेपालको आवश्यकतालाई केन्द्रविन्दुमा राख्नुपर्छ । त्यस्तै भारतसँग पनि धेरै अप्ठ्याराहरु होलान । खुला सीमा छ । धेरै आतजावत हुन्छ । जहाँ धेरै अन्तरक्रिया हुन्छ त्यहाँ समस्या पनि हुन्छ । यसका बावजूद नेपालमा जुनसुकै पार्टी सत्तामा बसे पनि उनीहरुसँग सम्बन्ध त्यही हिसाबले राख्नुपर्छ । उनीहरुले अप्ठ्यारो गरेको छ भने बोल्ने, नबोल्ने कुरै छैन । जस्तै सीमा विवादमा हामी बोल्यौ नि । जुन सुरुदेखि हामीले उठाउँदै आएका थियौं ।

विदेश नीति सञ्चालन गर्ने कुरा तीतो पोख्ने कुरा होइन । तीतो पोख्ने, उत्तेजनापूर्ण कुरा गर्ने, अनि बोल्नुपर्ने ठाउँमा गएर चाहि बोल्दै नबोल्ने । त्यो देशको लागि घातक हुन्छ । अहिलेको सरकारबाट घातक विदेश नीति सञ्चालन भएको छ । दुई देशको सम्बन्धको कुरा हो भने छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ । यो हाम्रो देशभित्रको समस्या हामी आफैं समाधान गर्न सक्छौं भनेर भारत र चीनका नेतृत्वलाई भन्न सक्नुपर्छ । त्यसैले अहिलेको परराष्ट्र सम्बन्ध सुझबुझरहित छ, हचुवापूर्ण छ । हचुवाको भरमा बोल्ने प्रवृति सत्तामा बस्नेहरुको छ ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्