राहत सामग्री लिएर गृहमन्त्री अछाम प्रस्थान



काठमाडौं : गृहमन्त्री रामबहादुर थापा (बादल) नेतृत्वको टोली अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेको छ ।

शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् टोली काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । स्काई ट्रक सुर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुगेर राहत वितरण गर्ने गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । गृहमन्त्री बादलबाहेक त्यस टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपाका नेता एवम् सांसद डा. भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत अधिकारी छन् ।

नेपाल रेडक्रस सोसाइटीबाट सहयोगस्वरुप प्राप्त राहत सामग्री टोलीले लिएर गएको छ । दुई दिनअघि अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा छ जनाको मृत्यु भएको थियो भने ११ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्