सशस्त्र प्रहरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु



काठमाडौं : नेपालमा थप दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ । राजधानीको सतंगुलस्थित सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत दुई जनाको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार मृत्यु हुनेमा काठमाडौंको बालुवाटारका एकजना पुरुष र राजविराजका अर्का पुरुष छन् । बालुवाटारका ७६ वर्षका पुरुषको बिहीबार साँझ अस्पतालमा ल्याइएको एक घण्टामै मृत्यु भएको हो । कोरोना पुष्टि भएका ती पुरुष छ दिनदेखि होम आइसोलेसनमा थिए । तर स्वास्थ्य अवस्था जटिल भएपछि बिहीबार साँझ सशस्त्र अस्पताल ल्याइएको थियो । गाह्रो भएपछि अस्पताल ल्याइएका ती पुरुषको उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ ।

डा नेपालका अनुसार मृत्यु भएका अर्का कोरोना संक्रमित राजविराजका ७७ वर्षका पुरुष हुन् । ती पुरुष साउन ३० गते काठमाडौं आएर वीर अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । तर स्वास्थ्य अवस्था बिग्रिपछि उनलाई शुरुमा ग्राण्डी अस्पताल लगिएको थियो । त्यसपछि ग्राण्डी अस्पतालले ती पुरुषलाई ग्रिनसिटी अस्पतालमा पठायो । साउन ३२ गते वीर अस्पतालबाट कोरोनाको रिपोर्ट पोजेटिभ आएको र स्थिति नाजुक भएपछि ग्रिनसिटी अस्पतालले बिहीबार साँझ सशस्त्र प्रहरी अस्पतालमा रिफर गरिदिएको थियो ।

सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ ती पुरुषलाई भेन्टिलेटरमा राखिएको थियो । उनको शुक्रबार बिहान मृत्यु भएको डा नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्