कोरोना र निषेधाज्ञाले देशभरका ६० प्रतिशत उद्योग बन्द



काठमाडौं : सरकारको निषेधाज्ञा एवं कर्मचारीमा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि देशभरका करिब ६० प्रतिशत उद्योग बन्द भएका छन् । सञ्चालनमा रहेका उद्योगले पनि क्षमताको करिब ४० प्रतिशत उपयोग गरेको उद्योगीहरूले बताएका छन् । देशका ठूला औद्योगिक करिडोर तथा औद्योगिक क्षेत्रभित्र रहेका बहुराष्ट्रिय कम्पनी मात्रै होइन, साना उद्योग, बिस्कुट र पेयपदार्थदेखि निर्माण सामग्री उत्पादन गर्ने उद्योगमा समेत कोरोना संक्रमण भेटिएको छ । संक्रमित भेटिएपछि कतिपय उद्योग स्वस्फूर्त बन्द भएका छन् भने कतिपयलाई स्थानीय सरकार र प्रशासनले बन्द गराएका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्दासमेत कोरोनाको जोखिम बढेपछि श्रमिक कर्मचारीहरू उद्योगसम्म आउन डराएका छन् भने उद्योगीहरू आफै पनि त्रसित छन् । अर्कातर्फ अधिकांश जिल्लामा गरिएको निषेधाज्ञाका कारण बजार बन्द हुँदा आपूर्तिको चक्र नै प्रभावित भएको छ ।  

देशको सबैभन्दा ठूलो बारा–पर्सा औद्योगक करिडोरका झन्डै ६० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए । अहिले बारा–पर्सा औद्योगिक करिडोर र आसपासका ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ ।

उनका अनुसार करिडोरमा रहेका औषधि, खाद्यान्न र केही निर्माणजन्य उद्योग मात्रै सञ्चालनमा छन् । ‘बारा–पर्सामा कोरोनाको संक्रमण उच्च छ, तर व्यवस्थापन कमजोर छ, हामी उद्योगी–व्यवसायी तथा श्रमिक सबै त्रसित छौँ,’ उनले भने, ‘कोरोना संक्रमणको जोखिमकै कारण ६० प्रतिशत उद्योग बन्द अवस्थामा छन्, जति चलेका छन्, तिनले पनि ३० प्रतिशत हाराहारीमा मात्रै क्षमता उपयोग गरिरहेका छन् ।’ बारा–पर्सा औद्योगिक करिडोर र आसपासमा करिब १५ सय उद्योग रहेका छन् । बारा–पर्सामा रहेका जगदम्बा, म्यागनस (मेडिसिन), प्राइम फर्मास्युुटिकल्स, नारायणी स्टिललगायतका उद्योगमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ । दोस्रो चरणको लकडाउनका रूपमा हेरिएको निषेधाज्ञाका कारण आन्तरिक यातायात प्रभावित छ । यद्यपि, आयात–निर्यात भने जारी नै छ । ‘संक्रमित र मृत्युको दर नघटेसम्म त्रास र जोखिम घट्दैन, जसले गर्दा उद्योगी र श्रमिक उद्योगसम्म पुुग्ने आँट गर्दैनन्,’ उनले भने, ‘त्यसैले आमजनतामा रहेको त्रास हटाउने गरी छिटो–छिटो कोरोनाको रोकथाम तथा नियन्त्रण गर्नुपर्छ ।’

त्यस्तै, दोस्रो ठूलो औद्योगिक करिडोर मोरङ–सुनसरीका उद्योग पनि क्षमताको ४० प्रतिशतको हाराहारीमा मात्रै चल्न सकेका छन् । यस क्षेत्रमा करिब ७ सय उद्योग  छन् । तर, कोरोना संक्रमण देखिएका र जोखिम बढी भएका थुप्रै उद्योग बन्द नै रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीमप्रसाद घिमिरेले बताए । सञ्चालनमा रहेका उद्योगले पनि ३०–४० प्रतिशत मात्रै क्षमता उपयोग गरिरहेको उनको अनुमान छ । ‘आरती स्ट्रिप्स, प्रिमियर स्टिल, पशुपति पेन्ट्स, चौधरी ग्रुपको बिस्कुट उद्योगलगायत थुप्रै उद्योगमा संक्रमण देखिएको छ, कतिपयमा सिल गरिएको छ भने कतिपयमा निसंक्रण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कोरोना संक्रमण नै देखिएको तथा संक्रमणको जोखिम बढेका कारण श्रमिकहरू उद्योगसम्म आउन डराएका छन्, उद्योगी आफँै पनि त्रसित छन् ।’ उद्योग चलाउने वातावरण बनाउन सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई चुस्त बनाई त्रास तथा जोखिम घटाउनुपर्ने उनी बताउँछन् ।  

देशभर रहेका औद्योगिक क्षेत्रमा अत्यावश्यकबाहेकका सबै उद्योग बन्द अवस्थामा 

रहेको औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष देवराज तामाङले बताए । सरकारले गरेको निषेधाज्ञा तथा कोरोना संक्रमणको जोखिमका कारण औद्योगिक क्षेत्रभित्रका औषधि, खाद्यान्न, दुुग्धजन्य, पानी, अक्सिजन, ग्यासलगायत उद्योग मात्रै सञ्चालनमा रहेको उनले बताए । 

देशभरका औद्योगिक क्षेत्रमा करिब ७ सय ५० वटा उद्योग रहेका छन् । ‘बालाजुु, हेटौँडा, भक्तपुर, धरानलगायत औद्योगिक क्षेत्रभित्र रहेका उद्योगमा समेत संक्रमण देखिएको छ, यसले जोखिम र त्रास बढाएको छ,’ उनले भने, ‘कोरोनाको जोखिम बढेको तथा श्रमिक, कर्मचारी र उद्योगीहरूसमेत डराएका कारण धेरै उद्योगहरू बन्द अवस्थामा छन् ।’ बालाजुुको हुकुम फुड, बोटलर्स नेपाल, फक्सवागनको वर्कसपमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सरकारले कोरोना परीक्षणको दर अझ बढाएर, आइसोलेसन र क्वारेन्टाइनको संख्या आवश्यकताअनुसार थपेर, संक्रमितको उपचारको सुनिश्चितता गराएर तथा आवश्यक स्वास्थ्य सामग्री तयार गरेर जोखिम र त्रास हटाउनुपर्ने उनको भनाइ छ । 

भारतीय मजदुरबाट भित्रियो उद्योगमा कोरोना 
सरकारले लकडाउनकै वेला स्वास्थ्य मापदण्ड पूरा गरेर उद्योग सञ्चालनको अनुमति दिएको थियो । उद्योगी–व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन गरेको बताउँदै आएका छन् । तैपनि, कोरोना संक्रमण देखिएको छ । खासगरी भारतबाट आएका श्रमिक मजदुरबाट कोरोना भित्रिएको सरोकारवाला बताउँछन् । उद्योगहरूले स्वास्थ्य परीक्षण नगरी चोरबाटोबाट श्रमिकलाई भित्र्याएपछि कोरोनाको संक्रमण तथा जोखिम बढेको एक उद्योगीले बताए । बुटवल, भैरहवा, नेपालगन्ज, कोहलपुरलगायत औद्योगिक करिडोरका उद्योगमा पनि कोरोना संक्रमण देखिएको छ । भैरहवास्थित सिद्धार्थ सिमेन्ट, दाङस्थित सम्राट सिमेन्टमा पनि संक्रमण देखिएको छ । संक्रमण देखिएपछि उद्योगहरू बन्द भएका छन् । सिद्धार्थ र सम्राट सिमेन्टमा समेत भारतीय मजदुर कार्यरत रहेको स्थानीय बताउँछन् । बारा–पर्सा र मोरङ–सुनसरी औद्योगिक करिडोर तथा बालाजु र भक्तपुर औद्योगिक क्षेत्रमा समेत भारतीय मजदुरबाट कोरोना संक्रमण भित्रिएको पाइएको एक उद्योगीले बताए ।

अवस्था झन् कठिन हुन सक्छ, वेलैमा सोच्नुपर्छ : शेखर गोल्छा

  • वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अहिलेको कल्पनाभन्दा बाहिरको अवस्था आयो । अबका दिन झन् कठिन छन् । बल्लतल्ल चल्न थालेका उद्योगहरू फेरि बन्द हुन थालेका छन् । उत्पादन, माग र आपूर्तिको चक्र बिग्रिएको छ । नेपालको श्रम गन्तव्य मुलुकमा देखिएको समस्याले रेमिट्यान्स घट्ने देखिन्छ । रेमिट्यान्स घट्ने भएपछि उपभोग घट्नेछ र त्यसको असर राजस्वमा पर्नेछ । अबका दिनमा सरकारलाई चालू खर्चसमेत जुटाउन कठिन हुन सक्नेछ ।

उद्योगी–व्यवसायी र श्रमिक झन् समस्यामा पर्न सक्छन् । यसर्थ, एकातर्फ कोरोनाको जोखिम बढेको छ भने अर्कातर्फ अर्थतन्त्रलाई चलायमान बनाउनैपर्ने आवश्यकता छ । त्यसैले सबैले वेलैमा सोच्नुपर्छ । थप लकडाउन अर्थतन्त्रले धान्दैन । सरकार र निजी क्षेत्र मिलेर उद्योग खोल्ने वातावरण बनाउनुपर्छ । परीक्षणको दर, आइसोलेसन र क्वारेन्टाइन बढाउनैपर्छ, सबैले स्वास्थ्य मापदण्ड अपनाएर अर्थतन्त्र चलाउनुपर्छ । नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन् ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्