अर्थमन्त्री बोहराद्धारा बुढिगंगा नदीले कटान गरेको क्षेत्रको निरीक्षण



अछामः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अछाममा बाढी प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।

बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षणका लागि मन्त्री बोहरा अछाम पुगेका हुन् । अछाम पुगे लगत्तै शनिबार साँफेबगर नगरपालिकामा बुढिगंगा नदीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका छन् ।

बुढिगंगा नदीले वैद्यनाथ क्षेत्र जोखिममा परेको भन्दै मन्त्री बोहराले दीर्घकालीन योजना बनाएर तटबन्ध गर्नुपर्ने बताए । स्थलगत निरीक्षणमा साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, नेकपाका नेता प्रकाश शाह स्थानीयवासी जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

उनले बुढिगंगा नदी कटान नियन्त्रणका लागि आवश्यक योजना तयार गर्ने बताए । यस पछि केहि दिन पहिले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको मन्त्री बोहराको निजी सचिवालयले जनाएको छ ।

केहि दिन पहिले आएको बाढीले रामरोशन गाउँपालिका ५ सैनी बजार बगाउँदा ६ जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् । मन्त्री बोहराले स्थलगत अवलोकन पछि पीडितलाई राहत र क्षतिपूर्ति तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि योजना तयार हुने बताइएको छ ।

यस अघि मन्त्रीपरिषद्को बैठकले विपद्बाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख र राहत क्षतिपूर्ति र उद्धारको लागि भन्दै १ करोड उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रकाशितः भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्