आज सुदूरपश्चिममा १६ जना कोरोना संक्रमित थिपए, संक्रमितकाे संख्या ५३३१ पुग्यो



धनगढीः कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय एक जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ९ पुरुष र ४ महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका वडा नं.६ का ३ जना र भजनी नगरपालिका वडा न.७ का १ जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार धनगढीका २ जनामा पनि कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका वडा नं.१ का ५१ वर्षीय पुरुष र वडा नं.५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले गन्यापधुरा गाउँपालिका वडा नं.१ का एक जनामा कोरोना पुष्टि भएको बताए । प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ ।

डोटीमा ३० जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुदूरपश्चिम बाहिरको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप एक जनामा कोरोना देखिएको बताए ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३१ पुगेको छ । संक्रमण पुष्टि भएको झण्डै ४ हजार ४ सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भैसकेको छ । प्रदेशमा सबैभन्दा बढि कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय २० पुगेको छ ।

प्रकाशितः भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्