युवतीमाथि सामूहिक बलात्कार घटनामा संलग्न चारमध्ये एक युवक पक्राउ



जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा एक युवतीमाथि सामुहिक बलात्कार गरेको घटनामा संलग्न चारमध्ये एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति धनुषाको धनुषाधाम नगरपालिका– २ धरमपुरका १९ वर्षीय विजय कुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–२ धमौरा पोखरी नजिकै भदौ १ गते बेलुकी करिब ६ बजेर ४५ मिनेटमा धनुषाधाम नगरपालिका– ५ नौसयबिघाबाट आफ्नो गाउँ जाँदै गर्दा स्थानीय ४ जना युवकहरु मिलेर ति युवतीको सामुहिक बलात्कार गरेका थिए ।

दिदीको घरबाट आफ्नो दुईजना दाजुसँगै घर गईरहेका बेला दुई वटा मोटरसाईकलमा पिछा गर्दै धरमपुर नजिक पुगेपछि युवतीका दुबै दाजुलाई कुटपिट गरी तिनिहरुले उसको सामूहिक बलात्कार गरेका थिए ।

अनुसन्धानको क्रममा पीडितले टिपाएको हुलियाको आधारमा एकजनाको सनाखत भएकोले आइतबार जिल्ला अदालत धनुषाबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

घटनामा संलग्न अन्य ३ जना फरार रहेको र उनीहरुको खोजी तिब्र रुपमा भइरहेको प्रवक्ता मिश्रले बताए ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्