अनुदानको २० किलो चामलप्रति स्थानीयको आकर्षण



सिमकोट : साविकको कर्णाली अञ्चलका पाँचवटा जिल्लाका स्थानीय वासिन्दालाई सरकारले जन्म र मृत्युको अवसरमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको महशुस हुने गरेको छ ।

गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडाबाट ५६० जनालाई ११४ क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए । “आर्थिक वर्ष २०७६/७७ मा हामीले मृत्यु भएको अवसरमा प्रदान गरिने चामल १६५ लाई २० केजीका दरले ३१ क्विन्टल २० किलो चामल वितरण गरेका छौं,” शााखा प्रमुख विष्टले भने, “यो कार्यक्रमप्रति हरेक वर्ष स्थानीयको आकर्षण बढ्दै गएको छ ।”

खाद्य संस्थान शाखाका अनुसार सिमकोट शाखा कार्यालयबाट जन्मका अवसरमा ३२०, श्रीनगर डिपोबाट १३८ र सर्केगाड डिपोबाट ११२ जना गरेर ५६० जनालाई रु सात लाख २० हजार ५२० को चामल निःशुल्क वितरण गरिएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ३३ हजार पाँचसय रकम दिएको शाखा प्रमुख विष्टले जानकारी दिए ।

यस्तै मृत्युको अवसरमा प्रदान गरिने चामलमध्ये सिमकोट शाखाबाट १३३, श्रीनगरबाट एक र सर्केगाडबाट २२ जना गरेर रु दुई लाख ५ हजार ७६० मूल्यको १५६ जनालाई ३१ क्विन्टल चामल र ६३ हजार ५०० ढुवानी रकम प्रदान गरिएको छ ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडा पालिकाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडा पालिकाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत सिमकोट आसपासका गाउँका स्थानीय वासिन्दालाई रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका वासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको शाखा प्रमुख विष्टले बताए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको समयमा कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका स्थानीय वासिन्दालाई जन्म र मृत्युमा आवश्यक प्रक्रिया पुर्याएर २० किलो चामल दिने कार्यक्रम ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्