असिना पानीले अन्नबाली नष्ट, किसानको बिजोग



डोल्पा : दुई दिनदेखि परेको असिना पानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ ।

असिना पानीका कारण सो गाउँपालिकाको वडा नं एकदेखि चारसम्म कृषकले लगाएको गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले बताए । उनले भने, “तीन÷चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ ।”

वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । “यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पार्यो, जीविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ”, वडाध्यक्ष गुरुङ्गले भने ।

सोही वडाका किसान तेन्जिन टासी गुरुङ्गले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताए । उनले भने, “कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ ।” उनले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्