जोखिममा सफाइ कर्मचारी, गरिएन कोरोना परिक्षण



काठमाडौँ : सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् ।

फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरहनुभएकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस क्षेत्रमा काम गर्ने सम्भव भए सम्मका सावधानी अपनाएर काममा खटिरहेको बताउनुभयो । काठमाडौँ महानगरपालिका–१२ अन्तर्गत टेकुमा सञ्चालित कवाड सङ्कलन केन्द्रमा काम गर्ने आधाजसो कामदार उपत्यकामा कोरोना सङ्क्रमण बढेपछि बेरोजगार भएको उहाँले बताउनुभयो ।

उपत्यकामा घर/घरमा पुगेर फोहोर सङ्कलन गर्ने अनौपचारिक क्षेत्रमा दुई हजार तीन सय कर्मचारी रहेको विभिन्न संस्थाको तथ्याङ्क छ । लुमन्ती संस्थाले यस्ता कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सेनिटाइजर लगाउने र हात धुने लगायतका सावधानी अपनाउने ठाउँ बनाइदिएकोे, ४५ वटा पीपीए उपलब्ध गराएको छ, त्यो पर्याप्त छैन, सबैलाई पुग्दैन उहाँले भन्नुभयो ।

यस क्षेत्रका कामदारसँग काम गरिरहनुभएका गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन सरसफाइको क्षेत्रमा काम गर्ने सबै कर्मचारीको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सङ्क्रमितले उपयोग गरेको फोहोर वस्तु सुरक्षित रूपमा प्लास्टिकभित्र बाँधेर, सङ्क्रामक फोहोर भनेर चिन्न सक्ने बनाई ७२ घण्टापछि मात्र फोहोर सङ्कलकलाई पठाउनुपर्छ भन्नुभयो ।

ललितपुर महानगरपालिका अन्तर्गत सरसफाइमा खटिने कर्मचारीको हकमा नगरपालिकाले सङ्घ संस्थासँग समन्वय गरेर पीपीए लगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रदान र कोरोना बीमा गराएको महानगरका अधिकृत प्रदीप अमात्यले बताउनुभयो । कोभिड–१९ महामारीको आपत्कालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला निर्देशिका–२०७७ जारी भएको छ । उक्त निर्देशिका अनुसार सरसफाइ कर्मचारीले लामो बाहुला भएको ग्राउन, बुट, मोटो/बलियो पञ्जा, मास्क, फेस सिल्ड लगाउनुपर्ने उल्लेख छ । घरायसी वा स्वास्थ्य संस्थाबाट निस्कने फोहोर छुट्याउने, छान्ने र फोहोरको पुनः प्रयोग नगर्न भनिएको छ ।

विगतमा असङ्गठित रूपमा काम गरिरहेका कर्मचारीलाई प्रिज्म परियोजनाले ‘संयुक्त सफाइ जागरण’ संस्था गठन गरी सङ्गठित गरेको थियो । सोही संस्थामा आबद्ध कर्मचारीलाई बचतसँग जोड्न र प्रोत्साहित गर्न ‘संयुक्त सफाइ जागरण बचत तथा ऋण सहकारी संस्था’को स्थापनासमेत गरिएको छ । सो संस्थामा कोषाध्यक्षसमेत रहनुभएका तामाङले सहकारीमा आठ सय जना आबद्ध रहेको जानकारी दिनुभयो ।

घर–घरमा पुगेर फोहोर सङ्कलन गर्ने ७७ वटा निजी संस्था आबद्ध फोहोरमैला व्यवस्थापन सङ्घ नेपालका अध्यक्ष धु्रव आचार्यले यस्तो अप्ठ्यारो अवस्थामा आफ्नो काममा निरन्तरता दिने सफाइकर्मी अग्रपङ्क्तिमा खटिने योद्धा हुन् भन्नुहुँदै उनीहरूको स्वास्थ्य सुरक्षा गर्न उचित व्यवस्था हुनुपर्ने माग गर्नुभयो । सङ्क्रमितको सम्पर्कमा आएको अस्पतालको फोहोर अस्पतालले नै निर्मलीकरण लगायतको व्यवस्था सम्बन्धित अस्पतालले नै गर्ने भनेकाले सफाइकर्मीलाई अलि सजिलो भएको उहाँको भनाइ छ । अध्यक्ष आचार्यले हाल घर/घरमा आइसोलेसनमा रहेका सङ्क्रमितले छोएका वस्तु राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने स्थिति भयावह हुनसक्छ भन्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्