पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहको गोप्य पत्र



काठमाडौं : रौतटहका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई गोप्य सर्कुलर पठाएको छ ।

भदौ ७ गते मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

उक्त पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुनरगर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरीतका कार्य भएरगरेको पाइएमा संलग्नताहरुलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।’

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले विरोध गरिरहेका छन् ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्