ऐतिहासिक तिरहुतिया गाछीको मुख्य प्रवेशद्धारमै शौचालय निर्माण हुँदै



जनकपुरधामः तिरहुत राज्यका बेला तिरहुत सेनाले विश्राम गर्ने थलो भनेर चिनिएको जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीको अस्तित्व संकटमा परेको देखिएको छ ।

ऐतिहासिक स्थलको संरक्षण गर्ने दायित्व बोकेको जनकपुरधाम उपमहानगरपालिकाले नै तिरहुतिया गाछीको मुख्य प्रवेशद्धारमै शौचालय निर्माण गरिरहेको छ ।

संघीय सरकारको योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका परिक्रमा सडक भित्र निर्माण भइरहेको विभिन्न ३० वटा मध्ये एउटा दुई तल्ले डिलक्स भनिएको शौचालय तिरहुतिया गाछीको मुख्य प्रवेशद्वारमै निर्माण भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले तिरहुतिया गाछीको नजिकै रहेको शुक्रवारी बजारमा शौचालय निर्माण गरिसकेको अवस्थामा तिरहुतिया गाछीको ऐतिहासिकता र सौन्दर्यता मेटाउने गरी प्रवेशद्वारमै शौचालय निर्माण भइरहेकोमा जनकपुरस्थित विभिन्न संघ संस्थाले कडा विरोध जनाएका छन् ।

संघीय सरकारको बजेटमा खानेपानी डिभिजन कार्यालय मार्फत उपमहानगरपालिकाको सहकार्यमा करीब ३० करोडको लागतमा नगरभित्र ३० वटा शौचालय र लोहनामा सडक सहितको योजना मध्ये निर्माण भइरहेको यो शौचालय पनि एक हो । तिरहुतिया गाछी सहित नगरको विभिन्न वडामा ३० वटा शौचालय निर्माण गर्ने योजना अन्तर्गत १५ वटाको निक्र्यौल भइसकेको छ भने उपमहानगरपालिकाले जग्गा उपलब्ध नगराएकोले १५ वटाको काम सुरु हुन सकेको छैन् ।

उपमहानगरपालिका भित्र भौतिक निर्माण सहितका विभिन्न विकासका योजनाको ठेक्का मेयर साहका भान्जा अरुण साह र मुन्ना साहले पाउंदै आएका छन । दुई बर्षमा कार्य सम्पन्न गर्ने गरी शौचालय र सडक सहितको यस योजनाको ठेक्का समेत मुन्नाले पाएका छन् ।

तिरहुतिया गाछीको सौन्दर्यता समाप्त गर्ने गरी प्रवेशद्वारमै किन शौचालय निर्माण गरिरहेको भन्ने जिज्ञासामा ठेकेदार साहले भने,‘हामीले आफ्नो मनले नभई मेयर साहले उपलब्ध गराएको जग्गामा पहिलो चरणमा १५ वटा शौचालय निर्माण गरिरहेका छौं ।’

उनले भने,‘हामी त ठेकेदार छौं, सम्बन्धित निकायले जहाँ जग्गा उपलब्ध गराउँछ हामी त्यहीं निर्माण गर्छौं, यस निर्माण कार्यले सौन्दर्यतामाथि के असर गर्छ भन्ने कुरा मेयर साहबसँग सोध्नुस ।’

यता उपमेयर रिता कुमारी मिश्रले यो योजना संघीय सरकारको रहेको र यसको काम खानेपानी डिभिजन कार्यालय मार्फत भईरहेको बताईन् । उनले भनिन्,‘हामी सहकार्य मात्र गर्ने हो, तिरहुतिया गाछीको मुख्य प्रवेशद्वारमै भइरहेको शौचालय निर्माण कार्यले म पनि आश्चर्यचकित छु ।’ उनले ठेकेदारले आफ्नो मनोमानी ढंगले निर्माण गरिरहेको आरोप लगाईन् ।

उपमहानगरपालिकाले जग्गा यकिन सहितको ३० वटै शौचालय र सडकको डिपीआर तयार समेत पारेर खानेपानी डिभिजन कार्यालयलाई दिइसकेको भन्दै उपमेयर मिश्रले भनिन्,‘हामीले तिरहुतिया गाछीको प्रवेशद्वारमा नभई पुरानो शौचालय निर्माण गरिएको ठाउँमा नयाँ निर्माण गर्न भनेका थियौं । तर ठेकेदारले आफ्नो मनोमानी तरिकाले निर्माण गरिरहेको छ ।’

शौचालय निर्माणको नाममा ऐतिहासिक तिरहुतिया गाछीको सौन्दर्यता बिगार्ने गरी उपमहानगरपालिकाले यसको अस्तित्व समाप्त गर्ने काम गरिरहेको स्थानीयको आरोप छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्